२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रिपोर्ट ढिलाइले सास्ती : पाल्पा र प्यूठानमा डेढ महिनादेखि आइसोलेसनमै

समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बस्नेहरूदेखि क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाहरू दिक्क छन् । यसले स्थानीय तहको व्ययभार पनि बढाएको छ ।
प्रदेश ब्युरो

बुटवल — प्रदेश ५ का तराईका जिल्लामा धमाधम क्वारेन्टाइन र आइसोलेसन सेन्टर रित्तिन थालेका छन् । १४ दिन बिताएर कोरोना लक्षण नदेखिएकालाई घर पठाइएपछि ती खाली भएका हुन् । एक महिनाअघिसम्म भद्रगोल क्वारेन्टाइन अहिले सुनसान छन् । समयमा कोरोना परीक्षण नहुँदा प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण भने लामो समय क्वारेन्टाइन र आइसोलेसन सेन्टरमै बिताउन बाध्य छन् । परीक्षण गरिएकाको रिपोर्ट आउन ढिलासुस्ती भएको छ । 

रिपोर्ट ढिलाइले सास्ती : पाल्पा र प्यूठानमा डेढ महिनादेखि आइसोलेसनमै

प्यूठान नगरपालिका–४, खडकडेराका गोरबहादुर नेपाली भारतबाट प्यूठान आएको डेढ महिना पुग्यो । गत जेठ ३ गते आएका उनी नगरपालिकाले बिजुवारमा बनाएको कालिका विकास केन्द्रको आइसोलेसन सेन्टरमा छन् । सुरुमा माण्डवी गाउँपालिकास्थित लामाचौरको क्वारेन्टाइनमा बसेका थिए । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन सेन्टरमा ल्याइएको हो । यहाँ आएको शनिबार २२ दिन पुगेको उनले बताए । स्वास्थ्यमा समस्या छैन । तर, दोस्रोपटकको पीसीआर रिपोर्ट नआएकाले घर जान पाएका छैनन् । ‘यहाँ स्वाब निकालेकोसमेत १३ दिन भो,’ उनले भने, ‘परीक्षण रिपोर्ट आउन एक साता लाग्छ भन्थे तर अझै आएको छैन ।’ तीन वर्षपछि घरमा आएको उनले बताए । डेढ महिनासम्म घरमा गएर परिवार भेट्न नपाउँदा उनी निकै आक्रोशित छन् । ‘आइसोलेसनमा राखेपछि हामीलाई भेट्न कोही पनि आउँदैनन्,’ उनले भने, ‘कैदीबन्दीझैं थुनिएर बसेका छौं ।’

प्यूठान–२, चितिखोलाका अमरबहादुर पछाई पनि भारतको भोपालबाट घर आएको डेढ महिना भयो । उनको पीडा पनि सुनारकोजस्तै छ । नगरपालिकामा सुरुमा संक्रमित भएकाहरूलाई कालिका विकास केन्द्रको भवनमा आइसोलेसन बनाएर राखिएको थियो । २ र ३ वडाका १० जना संक्रमित यहाँको आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएपछि उनीहरू आइसोलेसनमा बसेको २१ दिन भएको छ । यस क्रममा लक्षण नदेखिएको र बिरामी पनि कोही नभएको उनीहरूले बताए । तर, परीक्षण रिपोर्ट समयमै नआउँदा घर जान नपाएको भन्दै सबैजना आक्रोशित छन् ।

दोस्रोपटक स्वाब निकालेर पीसीआर परीक्षण गरेको रिपोर्ट आउन ढिला भएकाले उनीहरूलाई घर पठाउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । ‘अन्यत्र बसेकाहरूलाई कोरोना परीक्षण रिपोर्ट आएको १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गरेका छौं,’ उनले भने, ‘यहाँकालाई पुन: परीक्षण गर्न खोज्दा ढिलाइ भएको हो ।’ उनीहरूको स्वाब दोस्रोपटक असार ६ गते निकालेर जिल्ला स्वास्थ्य कार्यालयमार्फत भैरहवा पठाइएको घिमिरेले बताए । गत जेठ २४ गते सरकारले १४ दिन आइसोलेसनमा बिताएर लक्षण र बिरामी नभएकालाई घर पठाउने निर्देशिका लागू गरेपछि अन्यत्र निर्देशिका अनुसार घरमा पठाउन थालेको घिमिरेले बताए ।

प्यूठानमा कुल संक्रमित ३ सय ४ जना छन् । जसमध्ये ३५ जना आइसोलेसनमा बसेर कोरोना जितेर घरमा गएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । २ सय ६९ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले बताए । जिल्लाबाट पीसीआर परीक्षणका लागि स्वाब निकालेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको ५ सय ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको श्रेष्ठले बताए । जिल्लामा अझै ८ सय ५० जना क्वारेन्टाइनमा छन् ।

समयमा परीक्षण रिपोर्ट नआएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा पनि ४२ दिनसम्म सर्वसाधारणले क्वारेन्टाइनमै बिताउनु परेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार सोमादी र बल्ढेङगढीका दुई जना ४२ दिनदेखि क्वारेन्टाइनमा छन् । ‘पहिलो कुरा कन्ट्याक्ट ट्रेसिङमा पर्दै गएकाले समस्या भएको हो,’ उनले भने, ‘दोस्रो पीसीआर रिपोर्ट आउन ढिलाइ गर्दा पनि यसरी लामो समयसम्म बस्नु परेको छ ।’ तानसेन नगरपालिकाको बर्तुङस्थित जनप्रिय मावि क्वारेन्टाइनमा पनि २८ दिनदेखि बसेका छन् । वडाध्यक्ष सागरमान महर्जनका अनुसार रिपोर्ट आउन ढिलाइ भएकाले समस्या भएको हो । ‘क्वारेन्टाइनमा एउटै कोठामा राख्नु पर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नु स्वाभाविक नै हो ।’ बगनासकाली गाउँपालिकामा पनि २८ दिनदेखि क्वारेन्टाइनमा बसेका ५० भन्दा बढी छन् । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार यसरी राख्नुपर्दा राज्यलाई नै भार पर्छ । ‘रिपोर्ट छिटो आउने हो भने घर पठाउन पाइन्थ्यो,’ उनले भने, ‘१० दिनसम्म पनि रिपोर्ट नआउँदा समस्या भएको छ ।’

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्साको तिलोत्तमा रहेको क्वारेन्टाइन

पीसीआर विधिबाट स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट आउन ढिला भएको भन्दै पाल्पामा क्वारेन्टाइनबाट भागेका आठ जनामध्ये एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । तिनाउ गाउँपालिका–३, झुम्साको तिलोत्तमा क्वारेन्टाइनबाट उनीहरू बिहीबार भागेका थिए । उनीहरूको पीसीआर रिपोर्ट शुक्रबार आएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए । तिनाउ गाउँपालिका–५, घुँघराछापका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनीसँगै उनका छोरा, सोही वडाको बिस्कुनडाँडाका दुई, साबिक कोलडाँडाका तीन, तिनाउ–४, सत्यवती लगाडका एकजना भागेका थिए । ‘धेरै दिनदेखि उनीहरूले कसैले पनि भनेको मानेका थिएनन्,’ स्वास्थ्य शाखा प्रमुख कार्कीले भने, ‘एकाएक भागेको भन्ने जानकारी भयो । त्यसपछि खोजी गर्न सुरु भयो ।’ भागेर हिँडेका उनीहरू जीपमा गएका हुन् । सात जनाले सिद्धार्थ राजमार्गको चर्चरेमा मासु पकाउन लगाएर खोलामा गएर खाएको स्थानीयले बताए । उनीहरू गाउँमा गए पनि घरमा बस्न भने दिएका छैनन् । स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार सबैलाई नजिकको विद्यालयका साथै खाली घरमा राखिएको छ । ‘सबैको खोजी गरी स्थानीयको सहयोगमा गाउँमै व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘अब कन्ट्याक्ट ट्रेसिङ गरिनेछ ।’

पीसीआर परीक्षणको रिपोर्ट ढिलो आउँदा पश्चिम नवलपरासीमा क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । स्वाब संकलन गरेको १५ दिनसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरू घर जान पाएका छैनन् भने स्थानीय तहको खर्च बढेको छ । सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकालाई लक्षण नदेखिए घर पठाउने भने पनि २० दिनसम्म क्वारेन्टाइनमा बसेकाहरूको पनि रिपोर्ट नआउँदा समस्या भएको छ । यहाँ असार २ गतेदेखिको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताए । जिल्लामा क्वारेन्टाइनमा बस्ने मानिसको संख्या घट्दै गए पनि स्वाब संकलन गरी पठाउँदा समयमै रिपोर्ट नआउँदा समस्या भएको हो । ‘सामान्यतया १४ दिनपछि घर पठाउनु पर्ने हो । तर, पीसीआर रिपोर्ट नआउँदा २०/२२ दिनसम्म क्वारेन्टाइनमै राख्न बाध्य भएका छौं,’ उनले भने, ‘क्वारेन्टाइनमा बस्नेहरू घर जान हतारिने र परीक्षणको रिपोर्ट केन्द्रीय प्रयोगशालाले समयमा नपठाउँदा अप्ठ्यारो भएको छ ।’

क्वारेन्टाइनमा बस्नेहरूदेखि क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाहरू पनि समयमा रिपोर्ट नआउँदा दिक्क छन् । यसले स्थानीय तहको व्ययभार पनि बढाएको छ । ‘केन्द्रले पर्याप्त भीटीएम स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन नसकेपछि छिटो होला भनेर हामी आफैंले भीटीएम खरिद गरेर स्वाब संकलन गरेका थियौ,’ सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले भने, ‘केन्द्रले परीक्षण गरेर रिपोर्ट दिन पनि लामो समय लगाउँदा क्वारेन्टाइनमा नै एकबाट अर्कोमा संक्रमण फैलन सक्ने सम्भावना बढेको छ ।’ पश्चिम नवलपरासीबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकामध्ये ३ सय ९२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जसमा सुनवल नगरपालिकाका १ सय ६८ जना, सुस्ता गाउँपालिकाका १ सय ५ जना, बर्दघाट नगरपालिकाका ९६ जना, रामग्राम नगरपालिकाका ४ र प्रतापपुर गाउँपालिकाका ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

घरभित्रै बस्न बाध्य

बंगलादेशमा एमबीबीएस अध्ययनरत रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ का रोजन क्षत्री गत असार ६ गते त्यहाँको सरकारले नेपाल पठाइदिएपछि घर आए । स्वदेश आउने बेला गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले घरमै एकान्तबासमा छन् । उनीसँगै २ सय बढी नेपाली विद्यार्थी स्वदेश आएका हुन् । रोजन र अन्य २० जनालाई काठमाडौं उत्रेपछि बुटवलसम्म गाडीमा पठाइयो । यहाँ आएपछि सबै तितरवितर भए ।

रोजन आफ्नो घर पुगे । त्यसदिनबाट होम क्वारेन्टाइनमै छन् । लकडाउनले उनका आमाबुबा र परिवारका सदस्य पहाडमै रोकिएका छन् । उनी बुटवलको रानीगन्जस्थित घरमा एक्लै छन् । सरकारले विदेशबाट आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न भनेपछि सिधै घर आएर एकान्तबासमा बसेका हुन् ।

यहाँ स्थानीय सरकारले क्वारेन्टाइन अवधि पूरा गरे पनि पीसीआर परीक्षण गरेको छैन । स्वास्थ्य अवस्था पनि बुझेको छैन । उनी घरबाहिर निस्किन पीसीआर परीक्षण गराउन चाहन्छन् । परीक्षण गराउन पाए आफू र टोल सुरक्षित हुने रोजनले बताए । ‘यहाँको स्थानीय तहले दुई साता बसेर लक्षण नदेखिएमा केही गर्नु पर्दैन भनेको छ,’ उनले भने, ‘तर, विश्वस्त भएर बाहिर निस्कन सकिरहेको छैन ।’ आफू मेडिकलको विद्यार्थी भएकाले परीक्षण गरिनुपर्छ भन्ने चाहना राखेको उनले बताए । घरमा एक्लै भएकाले छिमेकीले खाना लगेर ढोकामा राखिदिने गरेको उनले सुनाए ।

बुटवल–१७ का वडाध्यक्ष सन्तबहादुर रानाले संघीय सरकारलेसमेत विदेशबाट आएका र होम क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्नु नपर्ने बताएकाले सोहीअनुसार क्वारेन्टाइन अवधि पूरा गरेपछि बाहिर निस्कन मिल्ने बताए । प्रदेश सामाजिक विकास मन्त्रालयले प्रत्येक दिन साँझ ५ बजे पत्रकार सम्मेलन गर्छ । त्यसमा संक्रमितको संख्या, उनीहरूको उपचार एवं रेखदेखबारे जानकारी दिन्छ । तर, संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्नेको तथ्यांक सार्वजनिक गर्दैन ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले होम आइसोलेसनमा बस्नेको संख्या नगन्य रहेकाले सार्वजनिक नगरिएको बताए । तर, प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार राति अद्यावधिक गरेको तथ्यांकमा ५ सय ६९ संक्रमितको आइसोलेसनमा व्यवस्थापन भएको तथ्यांक प्राप्त नभएको उल्लेख गरेको छ । स्वास्थ्य निर्देशक डा. विनोद गिरीले उनीहरू आफूअनुकुल होम आइसोलेसनमा बसेको वा जिल्लाबाहिर रहेको हुन सक्ने बताए । ‘आइसोलेसन र अस्पतालका संक्रमितको तथ्यांक लिन्छौं,’ उनले भने, ‘होम आइसोलेसनका बारेमा जानकारी हुँदैन ।’

गिरुप्रसाद भण्डारी (प्यूठान), माधव अर्याल (पाल्पा), नवीन पौडेल (परासी), सन्जु पौडेल (तिलोत्तमा) र अमृता अनमोल (बुटवल)

प्रकाशित : असार २१, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?