बेपत्ता युवकको शव फेला

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो खोलामा डुबेर बेपत्ता भएका एक किशोरको शव शनिबार मध्यान्ह फेला  परेको छ । शुक्रबार रूपन्देहीको कञ्चन खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउँपालिका वडा ४ निवासी १७ वर्षीय अर्जुन थापा मृत अवस्थामा फेला परेका हुन् ।

साथीहरूसँग पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनको पौडी खेलेको ठाउँभन्दा एक किलोमिटर दक्षिणतर्फ पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २०, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाकालमा ‘प्लेग’ पढ्नू !

कोरोनाले हामीलाई सिकाएको छ, महामारीमा आणविक हतियार निरर्थक छ । मानिस भनिरहेका छन्– ईश्वर सेतो लुगा लगाएर अस्पतालहरुमा बिरामीलाई बचाउन बसेका छन् ।
तीर्थ गुरुङ

निकै सुकिलोमुकिलो देखिने एक जना सानो कदको बूढो मान्छे दिनहुँ आफ्नो बार्दलीमा आउँछ र आदेशात्मक स्वरमा ‘पुसी पुसी’ भन्दै बिरालोलाई बोलाउँछ । जब कुनै बिरालो आइपुग्छ, ऊ कागजका टुक्राहरूलाई तल फाल्छ ।

टोलका भुस्याहा बिरालाहरू ती कागजका टुक्रालाई सेता पुतली सम्झेर त्यहाँ जम्मा हुन्छन् र ऊ ती बिरालाको समूहमा थुक्छ । कुनै बिरालोको शरीरमा थुकको मिसाइल पर्‍यो भने आनन्द मान्छ र अत्यन्तै सन्तुष्ट रहन्छ । प्लेगका जीवाणु फैलाउने भनेर बिरालाहरू मारिएपछि भने बूढो दु:खी बन्छ, उदासीको पल्लो फालमा पुग्छ र बार्दलीमा प्रकट समेत हुँदैन । भर्खरै तपाईंले पढ्नुभएको विसंगतिपूर्ण दृश्य हो– अल्बर्ट कामुको उपन्यास ‘द प्लेग’ को ।

कोभिड–१९ प्यान्डेमिक विश्वभर सल्किन थालेपछि महान् विसङ्गतिवादी लेखक अल्बर्ट कामुको ‘द प्लेग’ को अध्ययन गर्नु सान्दर्भिक हुन्छ । दोस्रो विश्वयुद्धको समापनपछि प्रकाशित ‘द प्लेग’ खासमा युद्धताका फ्रान्समाथिको जर्मन आधिपत्यको रूपकको रूपमा लेखिएको मानिन्छ । अठ्ठाइस वर्षको उमेरमा सन् १९४१ मै कामुले त्यसमाथि काम थालिसकेका थिए । फ्रान्सेली कम्युनिस्ट पार्टीका सदस्य कामुले आफ्ना मित्र ज्याँ पाल सात्र्र र अन्यसँग मिलेर एउटा भूमिगत पत्रिकामार्फत जर्मन सरकारविरुद्ध धावा बोले । त्यतिखेरका एकान्तबास र कठिनाइहरू कामुले आफ्नो उपन्यासमा उतारेका छन् । ‘द प्लेग’ कामुका सफलतम कृतिमा मानिन्छ । यो ‘द आउटसाइडर’ पछिको अर्को महत्त्वाकांक्षी कृति थियो र कामुलाई व्यक्तिगत रूपमा भने आफ्नो लामो निबन्ध ‘द रिबल’ मन पथ्र्यो भनिन्छ । ‘द आउटसाइडर’ र ‘द मिथ अफ सिसिफस’ बाट हामीतिर बढी चिनिने कामुको ‘द प्लेग’ अहिलेझैं सान्दर्भिक कहिल्यै भएन सायद ।

***

अल्जेरियन सहर ओरानमा अचानक मुसाहरू मर्न थाल्छन् । पहिलो मृत मुसा फेला पर्दा त्यो भवनमा मुसा नै नभएको जिकिर त्यहाँका पालेले गर्छन् । सयौंको सङ्ख्यामा बाहिर खुला ठाउँमा आएर मुसा मर्न थालेपछि बिस्तारै मान्छेहरू आत्तिन थाल्छन् । दिनहुँ हजारौंको सङ्ख्यामा मुखमा रगत लागेका मृत मुसाको व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । फेरि अचानक नै मुसाहरू दुला र अँध्यारोबाट बाहिर आएर उत्तानो पर्न छाड्छन् । त्यो अत्यासलाग्दो दृश्य देखिन छोडेपछि सहरवासी स्वभावत: हर्षित हुन थाल्छन् तर उपन्यासका मुख्य पात्र डाक्टर बर्नाड लिउचाहिँ मुसाहरूको त्यो आम मृत्युलाई अर्कै कोणबाट हेर्छन् । उनले शंका गरेजस्तै उनको अपार्टमेन्टको पालेमा अनौठो ज्वरोसँगै अनौठा लक्षण देखिन्छ र उनको मृत्यु हुन्छ । बिस्तारै अरू सहरवासी पनि मर्न थाल्छन् । उच्च ज्वरो, श्वास लिन गाह्रो वा काखी, काछ र गर्दनतिर लिम्फ नोड सुन्निएर डल्लाडल्ली देखिने, रगत छाद्नेजस्ता लक्षण हेर्दा त्यो ब्युबोनिक प्लेग हो भन्ने विश्वासमा डाक्टरहरू पुग्छन् र तुरुन्त यसको रोकथाम गर्न सरकारसँग आग्रह पनि गर्छन् । तर, अधिकारीहरू त्यसले महामारीको रूप धारण नगरुन्जेल कुनै कदम नचाली उदासीन रहन्छन् । हप्तामा औसत पाँच सय जनाको मृत्यु हुन थाल्छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि मात्रै बल्ल ओरान सहर क्वारेन्टिनमा जान्छ ।

त्यसपछि के हुन्छ, यहाँ भनिरहनु नपर्ला ब। किनभने हामी अहिले त्यही भोगिरहेका छौं । बाहिरी दुनियाँसितको सम्पर्कबाट ओरान सहर टाढा हुन्छ । भौतिक सुखसुविधामा बानी परेका उनीहरूको सामाजिक र आर्थिक जीवन ठप्प हुन्छ । आफ्ना प्रियजनबाट टाढा भएर बसिरहँदा बिस्तारै एउटा नयाँ संस्कृतिले जन्म लिन्छ, जहाँ उनीहरू आफ्ना छिमेकीलाई अविश्वास गर्छन् र अझ एकार्कासित डराउँछन् । मृत्युको भयबाट मान्छेहरू निर्वासन र नजरबन्दमा बस्छन् । त्यहाँ पनि महामारीको आडमा व्यक्तिगत सम्पत्ति थुपार्न खोज्ने नाफाखोरहरू हुन्छन् । अहिले हामीसित इन्टरनेटजस्ता प्रविधि केही नभएको भए हाम्रो यो लकडाउन कस्तो बिजोगको हुन्थ्यो होला, कल्पना गर्न सकिन्छ । ओरान त्यही कहालीलाग्दो समयमा घिस्रिरहेको हुन्छ ।

हामीले प्लेगको प्रारम्भको जस्तै अवस्था पनि भोग्यौं । यहाँ कारोना आउँदैन, नेपाल कोरोनामुक्त भइसक्योसम्म भनियो । हामीकहाँ त मुसा माघ ९ गते नै मरेको थियो, हामीले यहाँ मुसा नै छैन भन्यौं । आवश्यक तयारी गरेनौं र जब गर्‍यौं, कात्रोमा पनि कमिसन खोज्यौं । आफ्नी बिमार पत्नीलाई कुनै आरामगृहमा पठाएका डाक्टर एक मानवतावादीको रूपमा आफूलाई रोगीहरूको उपचारमा व्यस्त राख्छन् । उनको मुख्य काम नै बिरामीको आरोग्यताका लागि आफूलाई होम्नु हो । त्यसैले उपन्यासमा उनको मुखबाट दर्शन र धर्मका कुराहरू आउँदैनन् । उनी आफ्ना व्यक्तिगत दु:ख–कष्ट व्यक्त गर्दैनन् । यहाँसम्म कि बिरामीप्रति दयासमेत उनी प्रदर्शन गर्दैनन् किनभने उनलाई लाग्छ, यस्ता व्यवहारले प्लेगविरुद्धको उसको लडाइँमा व्यवधान आउनेछ । उनी त्यो लडाइँ कुनै भव्यताका निम्ति वा कुनै धार्मिक प्रयोजनका निम्ति लडिरहेका हुँदैनन् न कि कुनै उच्च नैतिक विचारले डोरिएर । उनलाई थाहा छ, त्यो युद्धमा आफ्नो हार हुनेछ तर पनि भद्रतापूर्वक उनी लडिरहन्छन् । त्यसैले हामी डाक्टरमा लेखक कामुलाई आरोपित गर्छौं । तर, कामुको प्रवक्ताचाहिँ ज्याँ तारो हो ।

तारो बाहिरिया हो । ओरानमा प्लेगको आक्रमण हुनुअघि आइपुगेका हँसिला तारो आफूलाई प्लेग महामारीविरुद्धको लडाइँमा स्वैच्छिक किसिमले होमिदिन्छन् । ईश्वरको अस्तित्वलाई अस्वीकार गरेर पनि सन्त बन्न बाटोमा हिँडिरहेका तारो मृत्युदण्डविरोधी हुन् । डाक्टर लिउजत्तिकै मरिमेटेर महामारीविरुद्ध लागिरहेको तारो दैनिकी पनि लेख्छन् । त्यही दैनिकीको सहायताले पनि डाक्टर लिउ (जो वास्तवमा उपन्यासको कथावाचक हुन्) हामीलाई कथा भनिरहेका हुन्छन् । ओरान सहरमा भइरहेको कालो मृत्युको नाच, सहरवासीको प्लेगप्रतिको व्यवहार आदिमा वास्तविकता झल्कियोस् अथवा त्यसमा वस्तुगत विवरण प्रतिविम्बित होस् भनेर हुन सक्छ कथाको वाचन प्रथम पुरुष शैलीमा नभई तृतीय पुरुष शैलीमा भएको छ ।

‘द प्लेग’ फ्रान्समाथि दोस्रो विश्वयुद्धताकाको जर्मन आधिपत्यको रूपकभन्दा विसङ्गतिवादी किताब बढी हो । कामुका अनुसार, सम्पूर्ण ब्रह्माण्ड विसङ्गत एवम् निरर्थक छ । ईश्वरको अस्तित्व छैन र मानव जाति दु:ख पाउन र अन्तत: मर्न अभिशप्त छ । त्यसैले मान्छेसित तीन विकल्प छन् : आत्महत्या, दैवी शक्तिमा विश्वास गर्नु वा विसङ्गतिलाई स्विकारेर आफ्ना लागि गतिलो केही गर्नु । अल्बर्ट कामु तेस्रो विकल्पको वकालत गर्छन् । कामुका निम्ति पहिलो विकल्प कायरता हो र दोस्रोचाहिँ मनोवैज्ञानिक ढाँट हो, जसलाई उनी आत्महत्यासँग तुलना गर्छन् ।

कोटार्ड पहिलो किसिमको विकल्प छनोट गर्छ । उपन्यासको प्रारम्भमै उसले आत्महत्याको प्रयास गर्छ । कुनै अज्ञात अपराधको कारण उसले त्यसो गरेको हुन्छ । तर, जब महामारी गल्लीगल्लीमा आइपुग्छ, ऊ त्यसलाई स्वागत गर्छ र अचानक परिवर्तित हुन्छ । अधिकारीहरूको ध्यान प्लेगतिर हुने हुँदा ऊ आफूलाई सुरक्षित महसुस गर्छ र अवैध रक्सी/चुरोटको व्यापार गरेर पैसा कमाउन थाल्छ । र, जब सहरबाट प्लेग हराउँछ, उसले मानसिक सन्तुलन गुमाउँछ ।

दोस्रो विकल्पमा हिँड्ने पात्र पादरी हुन् । पादरीले महामारीलाई मान्छेले गर्दै आएका पापमाथि ईश्वरको सजायको रूपमा व्याख्या गर्दै प्रभावकारी उपदेश दिन्छन् । उनका अनुसार, ईश्वरप्रति अनास्था र घृणा प्रकट गर्ने मानिस अन्तत: सजायका भागीदार हुनुपर्छ । तर, अस्पतालमा एक निर्दोष बच्चालाई प्लेगको निर्मम सिकार भएको प्रत्यक्ष देखेपछि भने उनको आस्था डगमगाउँछ । पादरीको दोस्रो उपदेशचाहिँ निकै हतासपूर्ण हुन्छ । तर, पनि उनी ईश्वरको अस्तित्वलाई नकार्न अस्वीकार गर्छन् । प्लेगबाहेक अर्कै कारण मृत्यु हुनुपूर्व त्यसलाई ईश्वरको इच्छा मानेर चिकित्सकको सल्लाह र परामर्श लिन अस्वीकार गर्छन् । तारोका कथनअनुसार, कुनै अर्काे पादरीले ईश्वरप्रतिको आस्था गुमाउँछ हुन्छ, जब युद्धमा उसको भेट दुइटै आँखा नष्ट भएको एक जना सिपाहीसँग हुन्छ ।

दोस्रो विश्वयुद्धलगत्तै ‘द प्लेग’ लाई युद्धकै रूपकको रूपमा अध्ययन गरियो तर कामुको यो महान् कृति त्यति लागि मात्रै थिएन । हो, त्यतिबेलाको प्लेग फासीवादको भेषमा थियो । समयक्रममा मानवजातिले फरकफरक रूपका प्लेगलाई भोग्दै आएका छन् र अहिले कोरोना भाइरसले सिंगो मानवजातिलाई विश्वव्यापी रूपमा आक्रान्त बनाइरहेका बेला यसको अध्ययन–मनन अझ टड्कारो लाग्छ । ढिलोचाँडो कोरोना हराएर जानेछ वा केही वैज्ञानिकका मतअनुसार, यो कहिल्यै हराउने छैन र अब हामीले कोरोनासँगै बाँच्न सिक्नुपर्छ । कोरोनाभन्दा खतरनाक अरू नै भाइरससित पनि हामी हाम्रो जम्काभेट हुन सक्छ ।

प्लेग हराएपछि सहरवासी रमाइलो गर्छन् तर डाक्टर रियोमार्फत कामु अन्तमा भन्छन्— यो आनन्द सधैं खतरामा थियो, यो भीडले कतै पढेर पनि बेवास्ता गरेको थियो कि प्लेगको कीटाणु सधैं सधैंलाई कहिल्यै नासिएर जाँदैन, यो कीटाणु पुराना फर्निचर र लुगाहरूमा निष्क्रिय बसिरहन्छ, शयनकक्षहरूमा, भूमिगत कोठाहरूमा, रुमालहरूमा, पुराना कागजहरूमा धीरताका साथ पर्खिरहेको हुन्छ र सायद मानवजातिको दुर्भाग्यका लागि प्लेगले आफ्ना मुसाहरू ब्युँझाउनेछ र कुनै सन्तुष्ट सहरमा मर्न पठाउनेछ ।

कोरोनाले हामीलाई सिकाएको छ, महामारीमा आणविक हतियार निरर्थक छ । मानिस भनिरहेका छन्– ईश्वर सेतो लुगा लगाएर अस्पतालहरूमा बिरामीलाई बचाउन बसेका छन् । कुनै सुपरहिरो वा दैवी शक्तिमा होइन, डाक्टर बर्नाड लिउजस्ता कर्मठ स्वास्थ्यकर्मीको हातमा हाम्रो जीवन छ ।

प्रकाशित : असार २०, २०७७ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×