बाढीमा फसेकालाई उद्धार गर्न बाँके र बर्दियाका ७ स्थानमा हेलिप्याड निर्माण

प्रदेश सरकारले विपद्पूर्वको व्यवस्थापनका लागि पठाएको बजेटबाट हेलिप्याड निर्माण

बर्दिया — बाढी प्रभावित क्षेत्रमा जनधनको क्षति हुन नदिन बाँके र बर्दियाका स्थानीय तहले हेलिप्याड निर्माण गरेका छन् । बाढीमा फसेका सर्वसाधारणलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गर्न हेलिप्याड निर्माण गरिएको हो । रात्रिकालीन अवस्थामा पनि हेलिकप्टर बस्न र उड्न सक्ने बनाइएको छ । प्रदेश सरकारले सबै पालिकामा हेलिप्याड बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिए पनि बजेट कम भएको भन्दै अन्यत्र बन्न सकेको छैन ।

बाढीमा फसेकालाई उद्धार गर्न बाँके र बर्दियाका ७ स्थानमा हेलिप्याड निर्माण

बाढीबाट अति प्रभावित बाँकेको नरैनापुर गाउँपालिकाको नयाँबस्ती, राप्ती सोनारीको फत्तेपुर र डुडुवा गाउँपालिकामा हेलिप्याड बनाइएको छ । राप्ती नदीकै कारण दर्जनभन्दा बढी गाउँ कटान भएर विस्थापित भइसकेका छन् । ‘नरैनापुर र राप्ती सोनारीको फत्तेपुरमा हेलिप्याड बनाउने स्थान फाइनल भइसक्यो । डुडुवामा स्थान निश्चित गर्न बाँकी छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने । प्रदेश सरकारले विपद्पूर्व व्यवस्थापनका लागि बाँकेलाई १५ लाख बजेट पठाएको छ ।

यस्तै, बर्दियाको बाँसगढी, बारबर्दिया, राजापुर र गुलरिया नगरपालिकामा पनि हेलिप्याड बनाइएको छ । बबई नदीका कारण गुलरिया नगरपालिका र बारबर्दियाका दर्जनभन्दा बढी गाउँ विस्थापित हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बाढी आउनुपूर्व नै कार्ययोजना बनाएर काम गरिरहेको बताए । बर्दियाका लागि प्रदेश सरकारले विपद्पूर्वको व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट पठाएको छ । हेलिप्याड निर्माणको काम नेपाली सेनाले गर्दै आएको छ ।

प्रकाशित : असार १९, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?