गुल्मी पहिरो अपडेट : गम्भीर घाइते दुई जनाको हेलिकप्टरमार्फत उद्धार

उद्धार गर्न गुल्मी पुगे सांसद विष्ट
दुई बालकको मृत्यु, एक बेपत्ता
घनश्याम गौतम

रूपन्देही — गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परी घाइते भएका रिखबहादुरकी श्रीमती ईश्वरा, बाबु टिका खत्रीको शुक्रबार साँझ ५ बजेपछि उद्धार भएको छ । घटनास्थलबाट स्टेचरमा बोकेर उद्धार गर्न नसक्ने अवस्था भएकाले हेलिकप्टरबाट उद्धार गरिएको हो । पहिरोमा पुरिएकी २७ वर्षिया इश्वराको अवस्था गम्भीर छ । उनले १८ घन्टा देखि गुहार माग्दै आएकी थिइन् । 

गुल्मी पहिरो अपडेट : गम्भीर घाइते दुई जनाको हेलिकप्टरमार्फत उद्धार

घाइतेको उद्धारका लागि पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट हेलिकप्टर लिएर गुल्मी पुगेका छन् । इश्मा गाउँपालिका–१ हस्तिचौरमा बिहीबार राति गएको पहिरोमा परी स्थानीय बसन्त सारुका १६ महिनाका छोरा सिजन सारु र रिखबहादुर खत्रीकी ८ वर्षीया छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ । प्रहरी घटनास्थल पुगे पनि पहिरोले सबै सडक बन्द छन् ।

घटनास्थल पुगेका प्रहरीको सहयोगमा केही स्थानीय पहिरोमा पुगे पनि घाइतेलाई पहिरोबाट बाहिर निकाल्न सक्ने अवस्था नरहेको वडाध्यक्ष चुराबहादुर खत्रीले बताए । ‘प्रहरीको सहयोगमा च्यापिएकालाई बाहिर त निकाल्यौं,’ उनले भने, ‘स्टेचरमा बोकेर बाहिर निकाल्न सक्ने अवस्था नै भएन ।’ त्यसैले हेलिकप्टरबाट उद्धार गरिएको हो ।

पूर्वमन्त्री बिष्टले बिहान ११ बजे नै हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरे पनि मौसम खराबीका कारण नेपाली सेनाले स्वीकृती नदिएपछि समयमै उद्धार गर्न नसकिएको बताए । घाइते भएकी सिजन सारुकी आमा सिर्जना सारु पनि अचेत छिन् । उनलाई भने स्थानीयले उद्धार गरेर गाडीमार्फत तम्घास ल्याएका थिए । हेलिकप्टरले पहिरो पीडितका लागि त्रिपाल र राहत सामग्री पनि गाउँमा पुर्‍याएको छ । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमै काठमाडौं लैजाने तयारी भएको गुल्मीका प्रहरी नायव उपरीक्षक केदारनाथ पन्तले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका–२ का ५५ वर्षीय भागिरथ घिमिरे अझै फेला परेका छैनन् । पहिरोमा ढुंगा र रुख पल्टिएकाले उनको खोजी जारी रहेको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । ‘अब डोजर लगाएर पहिरो पन्छ्याउने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसै खोजेर फेला पार्ने अवस्था भएन ।’ पहिरोका कारण मुसिकोटमा १४ र इश्मामा १० घर विस्थापित भएका छन् ।





प्रकाशित : असार १९, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?