१ सय ४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि स्पष्टीकरण माग

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेन्ट छविराज गिरीको नाममा ७ दिने सूचना जारी गरेको छ । १ सय ४० दिनदेखि कार्यालयको सम्पर्क बाहिर रहेका उनलाई स्पष्टिकरण पेस गर्न भनिएको छ ।

१ सय ४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि स्पष्टीकरण माग

समायोजनका क्रममा जिल्ला अस्पताल पाल्पामा दरबन्दी भएका सिनियर हेल्थ असिस्टेन्ट गिरी १ सय ४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि उनको नाममा ७ दिने सूचना जारी भएको हो । जिल्ला अस्पताल पाल्पामा दरबन्दी रहेका गिरी गत फागुन २ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् ।

आफ्नो कर्मचारी बिना सूचना लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि जिल्ला अस्पताल पाल्पाले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा सूचना लेखेर पठाएको थियो । कर्मचारी सम्पर्कविहीन भएपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गर्दै सेवाबाटै बर्खास्त किन नगर्ने हो सो को स्पष्टीकरण पेस गर्नु भनेको छ ।

मन्त्रालयको ७ दिने सूचनामा भनिएको छ, ‘तपाईं छविराज गिरी पाल्पा अस्पताल तानसेनको पत्र तथा दैनिक रुपमा सोही अस्पतालबाट प्राप्त हाजिरी विवरणअनुसार सम्बन्धित कार्यालयबाट बिदा स्वीकृत नगराइ मिति २०७६/ ११/०२ देखि हालसम्म पनि अस्पतालमा उपस्थित नभएको र स्वास्थ्यकर्मीहरुलाई लकडाउनको समयमासमेत अनिवार्य उपस्थितिका लागि स्वास्थ्य मन्त्रालयबाट पटकपटक भएको निर्देशन समेतलाई बेवास्ता गरेको भन्ने व्यहोरा बुझिन आएकाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिमको काम गरेकोमा तपाईंलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउनु नपर्ने वा बर्खास्त गर्नु नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरणसहित उपस्थित हुनुहोला ।’

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीमा दरबन्दी रहेका गिरी २०७६ मंसिर २७ गते प्रादेशिक मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला अस्पतालमा पदस्थापन भएका थिए ।

प्रकाशित : असार १९, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?