पीसीआर रिपोर्ट नआउँदा दुई महिनादेखि क्वारेन्टाइन र आइसोलेसनमै

प्यूठान — प्यूठान नगरपालिका-४ खडकडेराका गोरबहादुर नेपाली भारतबाट प्यूठान आएको दुई महिना हुन थाल्यो । जेठ ३ गते आएका उनी नगरपालिकाले बिजुवारमा बनाएको कालिका विकास केन्द्रको आइसोलेसन सेन्टरमा छन् । सुरुमा माण्डबी गाउँपालिकास्थित लामाचौरको क्वारेन्टाइनमा बसेका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई नगरपालिकाको आइसोलेसन सेन्टरमा ल्याइएको हो ।

पीसीआर रिपोर्ट नआउँदा दुई महिनादेखि क्वारेन्टाइन र आइसोलेसनमै

यहाँ आएको शुक्रबार २१ दिन भएको उनले बताए । स्वास्थ्यमा कुनै समस्या छैन । तर उनको दोस्रो पटकको पीसीआर रिर्पोट नआएका कारण उनी घर जान पाएका छैनन् । ‘यहाँ स्वाब निकालेको समेत १३ दिन भो,’ उनले भने, ‘परीक्षण रिपोर्ट आउन एक साता लाग्छ भन्थे अझै आएन ।’ तीन वर्षको घरमा आएको उनले बताए । दुई महिनासम्म घरमा गएर परिवार भेट्न नपाउदा उनी निकै आक्रोशित छन् । ‘आइसोलेसनमा राखेपछि हामीलाइ भेट्न कोही पनि आउँदैनन्,’उनले भने, ‘कैदीझैं थुनिएर बसेका छौं ।’

चितिखोलाका अमरबहादुर पछाई पनि भारतको भुपालबाट घरमा आएको दुई महिना हुन थाल्यो । उनको पीडा पनि सुनारकै झैं छ । नगरपालिकामा सुरुमा संक्रमित भएकाहरुलाई कालिका विकास केन्द्रको भवनमा आइसोलेसन बनाएर राखिएको थियो । २ र ३ नम्बर वडाका १० जना संक्रमित यहाँको आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएपछि उनीहरु आइसोलेसनमा बसेको २१ दिन भएको छ । यस क्रममा लक्षण नदेखिएको र बिरामी पनि कोही नभएको उनीहरुले बताए । तर परीक्षण रिपोर्ट समयमै नआउँदा घर जान नपाएको भन्दै सबैजना आक्रोशित छन् ।

दोस्रो पटक स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट आउन भएको ढिलाइले गर्दा उनीहरुलाई घर पठाउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । ‘अन्यत्र बसेकाहरुलाई कोरोना परीक्षण रिपोर्ट आएको १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गरेका छौं,’ उनले भने, ‘यहाँकालाई पुन: परीक्षण गर्न खोज्दा ढिलाइ भएको हो ।’ उनीहरुको स्वाब दोस्रो पटक असार ६ गते निकालेर जिल्ला स्वास्थ्य कार्यालयमार्फत् भैरहवा पठाइएको घिमिरेले बताए । गत जेठ २४ गते सरकारले १४ दिन आइसोलेसनमा बिताएर लक्षण र बिरामी नभएकालाई घर पठाउने निर्देशिका लागू गरेपछि अन्यत्र निर्देशिकाअनुसार घरमा पठाउन थालेको घिमिरेले बताए ।

प्यूठानमा कुल संक्रमित ३ सय ४ जना छन् । यसमध्ये ३५ जना आइसोलेसनमा बसेर कोरोना जितेर घरमा गएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । २ सय ७९ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुश्कल श्रेष्ठले बताए ।

जिल्लाबाट पीसीआर परीक्षणको लागि स्वाब निकालेर राप्ती स्वास्थ्य प्रतिष्ठान दाङ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको ५९६ जनाको रिपोर्ट आउन बाँकी रहेको श्रेष्ठले बताए । जिल्लामा अझै ८ सय ५० जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : असार १९, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?