तिलोत्तमाको सडक किनारमा रोपिएका बिरुवा कसले काट्यो ?

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमाको सडक किनारमा रोपिएका बिरुवा बिहीबार राति अज्ञात समूहले काटेका छन् ।   मणिग्राम चोकदेखि नयाँमिलसम्मको ‘ग्रिनरी जोन’मा लगाइएका ३२ वटा बिरुवा अज्ञात समूहले काटेका हुन् ।

तिलोत्तमाको सडक किनारमा रोपिएका बिरुवा कसले काट्यो ?

उक्त बिरुवा कसले र किन काट्यो भन्नेबारे स्थानीय प्रहरीले अनुसन्धान थालिसकेको छ । सार्वजनिक सम्पतिका रुपमा ‘ग्रीन तिलोत्तमा’को अवधारणालाई पूरा गर्न लगाइएका रुख बिरुवा काटेको निन्दनीय कार्यप्रति नगरपालिकाले भत्र्सना गरेको छ । यो कार्य गर्ने जोकोहीलाई कडा कारबाही गरिने नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले सडकका दायाँबायाँ डिभाइडरमा चार वर्षअघि स्टोनियाका बिरुवा लगाएको थियो । ‘प्रतिबिरुवा ३ सय ५० रुपैयाँ मूल्यका दरले रोपिएको थियो,’ प्रमुख घिमिरेले भने, ‘बिरुवाको संरक्षणमा स्थानीय टोल विकास संस्थाले खटिएका थिए ।’

रुख काट्ने व्यक्तिको पहिचानका लागि प्रहरीको सहयोगमा सीसीटीभी फुटेज हेरिएको र फुटेजमा ३ जना व्यक्ति देखिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

तिलोत्तमामै यसअघि सडकमै राखिएका बुद्धका मुर्ति फोड्ने कार्यसमेत भएको थियो । सो घटनामा संलग्नको समेत खोजी कार्य जारी छ । यसैगरी तिलोत्तमामा राखिएका डस्टबिन तोडफोड गर्नेहरुलाई भने नगरपालिकाले पक्राउ गरी कारबाही गरेको थियो ।

उनीहरुले सडकमा राखिएका ३० वटा डस्टबिन तोडफोड गरेका थिए । उनले पटक–पटक नगरमा भइरहेका यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विकासका काममा बाधा पुर्‍याउन गरिएको कार्यमा संलग्नलाई हदैसम्मको कारबाही गरिने जनाए ।

प्रकाशित : असार १९, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?