वडाध्यक्षमाथि आक्रमणको अभियोगमा ३ पक्राउ

दुर्गालाल केसी

दाङ — शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई आक्रमण गरेको अभियोगमा प्रहरीले बुधबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर ४ घर भई हाल तुलसीपुर उपमहागनरपालिका ५ मासुमार्केट बस्ने २९ वर्षीय अर्जुन शाही, शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी ५१ वर्षीय इन्द्रबहादुर वली र शान्तिनगर ३ भलानेटी निवासी ३८ वर्षीय रेशमबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रुमख डिएस्पी शिवबहादुर सिंहले बताए ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए । वडाध्यक्ष डाँगीलाई मंगलबार दिउँसो एक समूहले कार्यालयभित्रै पसी फलामको रड र लाठी प्रहरी गरेर घाइते बनाइएको थियो । डाँगीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि मंगलबार नै थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको छ ।

पक्राउ परेकाहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । चन्द नेतृत्वको नेकपाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी डाँगीमाथि भएको आक्रमणको जिम्मेवारी लिएको थियो ।

भ्रष्टाचार गरेको, गाउँमा संगठितरुपमा जुवा खेलाएको र सर्वसाधारणलाई दु:ख दिएका कारण डाँगीलाई कारबाही गरिएको चन्द समूहका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले जारी गरेको विज्ञप्तिमा छ ।

प्रकाशित : असार १७, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा कोरोना संक्रमित हजार नाघे 

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार बिहान २८ र बेलुकी १४ जना संक्रमित थपिएसँगै १ हजार ६ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पछिल्लो पटक लमजुङका १०, कास्कीका ३ र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदविन्दु शर्माले बताए । संक्रमितमध्ये २ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

स्याङ्जाका दुई संक्रमितको मृत्यु भएको छ । अझै २ सय ९० को स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

प्रकाशित : असार १७, २०७७ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×