वडा अध्यक्षमाथि चन्द समूहको आक्रमण

दुर्गालाल केसी

दाङ — शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि नेत्रविक्रम चन्द समूहले आक्रमण गरेको छ ।

मंगलबार बिहान साढे ११ बजे १० जनाको एक समूहले कार्यालयमै रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

डांगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

आक्रमणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । पार्टीका गाउँपालिका सेक्रेटरी कमल सिंहले विज्ञप्ती जारी गरी गाउँमा विभिन्न गलत काम गरेका कारण डाँगीमाथि कारबाही गरिएको उल्लेख गरेका छन् ।

प्रकाशित : असार १६, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप एक वर्ष पछाडि सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप एक वर्ष पछाडि सारिएको छ । सेप्टेम्बरमा बंगलादेशमा हुने भनिएको प्रतियोगिता अब एक वर्षपछि सन् २०२१ मा मात्र हुनेछ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता पछाडि सारिएको हो । दक्षिण एसियाली फुटबल महासंघको भर्चुअल बैठकले यो निर्णय गरेको हो । त्यस बैठकमा सात देशका फुटबल संघका महासचिवको सहभागिता थियो ।

नेपालका तर्फबाट त्यस बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भाग लिएका थिए । प्रतियोगितामा नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स सहभागिता रहने गरेको छ ।

गत वर्षको साफ च्याम्पियनसिप पनि बंगलादेशमै भएको थियो र त्यसमा माल्दिभ्स विजयी रहेको थियो । फाइनलमा उसले भारतलाई हराएको थियो ।

प्रकाशित : असार १६, २०७७ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×