कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवा र बुटवलमा थपिए पीसीआर मेसिन

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा २ वटा पीसीआर मेसिन थपिएका छन् । प्रदेश प्रयोगशाला भैरहवा र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एक–एकवटा मेसिन थपिएका हुन् ।

भैरहवा र बुटवलमा थपिए पीसीआर मेसिन

हाल प्रदेशमा दैनिक ३ सय नमुना परीक्षण हुँदै आएकामा मेसिन थपिएसँगै ५ सय नमुना परीक्षण हुने बताइएको छ । दुवै मेसिनले आइतबारदेखि पूर्ण परीक्षण सुरु गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । प्रदेश प्रयोगशालाका लागि यूएनडिपीले मेसिन सहयोग गरेको हो । त्यस्तै लुम्बिनी अस्पतालमा प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट किनिएको हो । ‘अर्को सातासम्म दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नयाँ पीसीआर मेसिन जडान हुनेछ,’ उनले भने, ‘त्यसका लागि ६० लाख रुपैयाँ पठाएका छौं ।’

प्रदेशमा हाल ३ वटा प्रयोगशाला छन् । रूपन्देही, दाङ र बाँकेमा रहेका ती प्रयोगशालाले दैनिक एक/एक सयवटाका दरले स्वाब नमुना परीक्षण गर्न सक्छन् । स्वाब नमुनाको थुप्रो लागेकाले अहिले यी प्रयोगशालाले १० देखि १५ दिनमा मात्रै नतिजा दिन सकेका छन् । ‘पीसीआर परीक्षणको नतिजा लामो समयसम्म दिन नसक्दा संक्रमण आशंकाका व्यक्तिलाई मनोवैज्ञानिक असर देखिँदो रैछ । क्वारेन्टाइनमा राख्ने दिन लम्बिँदा आर्थिक भारसमेत पर्दो रहेछ,’ सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने, ‘यस्तो समस्या हटाउन पीसीआर मेसिन र परीक्षणको दायरा बढाएका हौं ।’

अहिले यहाँका प्रयोगशालामा ८ हजार ६ सय ५४ वटा स्वाब नमुना थुप्रिएका छन् । जसमा राप्ती विज्ञान प्रतिष्ठान दाङमा ३ हजार ७ सय १८ नमुना छन् । धेरै स्वाब थुप्रिएपछि दाङमा अघिल्लो सातादेखि नयाँ स्वाब संकलन गर्न छोडिएको छ । प्रदेश प्रयोगशाला रूपन्देहीमा १ हजार ४ सय २१ र भेरी अस्पताल बाँकेमा १ हजार ५४ स्वाब नमुना छन् । प्रदेशले नधानेपछि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउने दर बढाइएको छ । जहाँ अहिले प्रदेश ५ का १ हजार ४ सय २० र धुलिखेलको प्रयोगशालामा १ हजार ४१ स्वाब नमुना छन् ।

प्रकाशित : असार १०, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?