प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै 

अमृता अनमोल

बुटवल — भारतबाट आउने नेपाली नागरिकहरुको संख्या कम हुँदै गएपछि प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै गएको छ । सोमबार दिउँसोसम्म यहाँका क्‍वारेन्टाइनमा २१ हजार ७ सय २६ जना रहेको  प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै 

२ साताअघि ४२ हजार व्यक्तिहरु यहाँका क्‍वारेन्टाइनहरुमा थिए । प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले भने, ‘अहिले विस्तारै मानिसहरुको संख्या घट्दै र क्वारेन्टाइनहरु खुकुला हुँदै गएका छन् ।’

प्रदेशका १२ जिल्लामा गरी एक हजार ७ सय ९७ क्वारेन्टाइन छन् । तिनमा ६१ हजार सात सय १७ जनाको बेड क्षमता छ । जिल्लागत रुपमा सबैभन्दा धेरै कपिलवस्तुमा १० हजार तीन सय १० र दाङमा १० हजार २ सय ५५ बेड क्षमताका क्वारेन्टाइन छन् । हाल प्रदेशका दुईतिहाई क्वारेन्टाइन खाली छन् ।

प्रदेशमा सबैभन्दा धेरै दाङमा चार हजार दुई सय ८० जना छन् । यसपछि गुल्मीमा तीन हजार तीन सय ३९ जना क्वारेन्टाइनमा छन् । प्युठानमा दुई हजार पाँच सय दुई, पाल्पामा दुई हजार तीन सय दुई,बर्दियामा दुई हजार ६५ र अर्घाखाँचीमा दुई हजार दुई जना क्वारेन्टाइनमा छन् । यस्तै बांकेमा एक हजार ६ सय ११, रुपन्देहीमा एक हजार एक सय १९, कपिलवस्तु आठ सय ४९, नवलपरासी पश्चिम सात सय ३५, रोल्पा ५ सय ८२ र रुकुम पूर्व एक सय ४० जना छन् ।

क्वारेन्टाइनमा बस्ने व्यक्ति घट्दै गएपछि पछिल्लो समय भौतिक सुविधा भएका क्वारेन्टाइनलाई नै आइसोलेसन सेन्टर बनाउन थालिएको छ । प्रदेशमा ९८ वटा आइसोलेसन सेन्टर छन् । प्रदेशमा सोमबार दिउँसोसम्म दुई हजार चार सय ८३ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : असार ८, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?