सन्धिखर्कमा पहिरोले घरगोठ बगायो

'एक मिनेटले पहिरोबाट बाँच्यौं'
वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका ६ नरपानीमा शनिबार बिहान पहिरो गएको छ । पहिरोले सोही नगरपालिकामा कार्यरत छैटौं तहका अधिकृत थानबहादुर महत्राको घरगोठ बगाएर लगेको छ ।

सन्धिखर्कमा पहिरोले घरगोठ बगायो

दुहुनो भैंसी, एउटा बाख्रो, दुई खसी, ८ तोला सुन, २ लाख रुपैयाँ नगद, लत्ताकपडा लगायत सामाग्री पहिरोले लगाएर लैजाँदा १५ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको वडाअध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।

उनका अनुसार घरमा राखिएका सबै सामान भेटिने अवस्थामा छैनन् । शुक्रबार रातिदेखि लगातार परेको पानी शनिबार दिउँसो ३ बजेमात्रै रोकिएको थियो । त्यसपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको टोली पहिरो स्थल पुगेको छ ।

'एक मिनेटले पहिरोबाट बाँच्यौं '

'रातभर वर्षा हुँदा जमिन गलिसकेको थियो । बिहान ७ बजेतिर अत्यधिक चिसो भयो । घर अलि जोखिममा पनि थियो । छिमेकीको घरमा म, श्रीमती, छोरीज्वाइँ सबैजना छिमेकीको घरमा गरमा गएर मकै भुटेर खान भनि हिँड्र्यौं, त्यसपछि पहिरो गैहाल्यो', अधिकृत थानबहादुर महत्राले भने । घरसहितको जुन जमिन पहिराले लग्यो, त्यो जमिन छाडेको १ मिनेटमात्रै भएको थियो, हेर्दा हेर्दै घरगोठ छिनभरमै बगाएको उनले बताए । 'छिमेकीको घरमा मकै भुटेर खान हिँडेकाले बाँचियो, हामी १ मिनेटले बाँच्यौं', उनले भने ।

महत्राले खल्तीमा मोबाइलमात्रै राखेका थिए । 'हाफ, पाइन्ट र टिसटबाहेक मेरो शरीरमा केही छैन,' उनले भने । आँखै अगाडि वर्षौदेखि बस्दै आएको घरथारो पहिरोले बगाएपछि उनले रुँदै नगर प्रमुख कमलप्रसाद भुसाल र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई फोन गरेर घटनाबारे जानकारी गराए ।

यसैबीच, नरपानीकै भुजुंगो गाउँ पहिरोले चिरा परेपछि ६ जना परिवारले घर छाडेका छन् । पाणिनि गाउँपालिका–६ धातीवाङमा ३ घरपरिवार विस्थापित भएका हुन् । पानी परिरहेको बेला जमिन चिरा परेपछि घर छाडेर छिमेकीको शरणमा रहेको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । ६ नम्बर वडासदस्य खगिश्वर पौडेलका १५ सय कुखुरा भएको फार्म बगाएर लग्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै सन्धिखर्क–गोरुसिंगे सड्कखण्डमा नरपानी, शीतगंगा लगायतका क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको खत्रीले बताए । पटैटी–तम्घास सड्कको दुर्गाफाँटमा बन्दै गरेको मोटरेवल पुल भत्किएको छ ।

प्रकाशित : असार ६, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?