१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुल्मीमा होम क्वारेन्टाइनमा बसेका ६९ वर्षीय पुरुषको मृत्यु

घनश्याम गौतम

गुल्मी — होम क्वारेन्टाइनमा बसेका गुल्मीको छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । उनी जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामीसमेत रहेका उनको बिहीबार आरडीटी परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएको थियो ।

बिहीबार नै उनीसहित छत्रकोटका ६१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक पुष्प पौडेलले मृतक पक्षघात पीडित दीर्घ रोगी रहेको र अवस्था पनि नाजुक नै रहेकाले रेखदेखका लागि उनीसहित परिवारका ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको बताए । ‘मुखबाट आफै खाना खान नसक्ने भएकाले नाकबाट ट्युब राखेर खाना खुवाउने गरिएको थियो,’ उनले भने, ‘परिवारले नै रेखदेख गर्नुपर्ने देखिएकाले गाउँकै खाली घरलाई होम क्वारेन्टाइनको रुपमा प्रयोग गरेर राखेका थियौं ।’ बिहीबार राति नै मृत्यु भएको भए पनि पीसीआर परीक्षणको रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

उनको शव नेपाली सेनाको टोलीले शुक्रबार नै व्यवस्थापन गरेको छ । गुल्मीमा शुक्रबारसम्ममा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । बिहीबार मात्र छत्रकोट र चन्द्रकोट गाउँपालिकामा गरी ४२ संक्रमित फेला परेका थिए । गुल्मीमा संक्रमितमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको मृत्यु भएको छ । गुल्मीबाट ९ सय ७६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिए पनि ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ । स्वाब प्रदेश प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।

प्रकाशित : असार ५, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?