कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश ५ का क्वारेन्टाइनमा योग र जडिबुटी

सामाजिक विकास मन्त्रालयको आयुर्वेद चिकित्सा महाशाखाको समन्वयमा योग अभ्यास र स्वदेशमै उत्पादित जडिबुटीलाई औषधिको रुपमा प्रयोग गर्न थालिएको छ ।
घनश्याम गौतम

रूपन्देही — कोभिड–१९ महामारी नियन्त्रण गर्न प्रदेश ५ का अस्पताल र क्वारेन्टाइनमा नियमति योग अभ्यास र जडिबुटीबाटै उपचार सुरु भएको छ । त्यसले संक्रमितमा सकारात्मक प्रभाव पारेको र निको हुनेको संख्या बढ्दै गएको छ ।

प्रदेश ५ का क्वारेन्टाइनमा योग र जडिबुटी

सामाजिक विकास मन्त्रालयको आयुर्वेद चिकित्सा महाशाखाको समन्वयमा योग अभ्यास र स्वदेशमै उत्पादित जडिबुटी औषधिको रुपमा प्रयोग हुन थालेको हो । बुटवल उपमहानगरपालिकाको देवीनगरस्थित एन्फा एकेडेमीमा बिहान साढे ५ बजे योग अभ्यास सुरु हुन्छ । साढे ६ बजे भजनकीर्तन र राष्ट्रियताबाट प्रेरित गीतबाट नृत्य गराइन्छ । त्यसले संक्रमितलाई सकारात्मक सोचका लागि प्रेरित गर्ने र रोग प्रतिरोधी क्षमताको विकास हुने लुम्बिनी आयुर्वेद चिकित्सालयका डा. नलिननाथ तिवारीले बताए ।

एकेडेमीबाट आइतबार ९ जना निको भएर घर फर्केका छन् । ‘आइसोलेसनमा रहेकालाई पनि आयुर्वेद चिकित्सा विधि र जडिबुटीको प्रयोगले प्रतिरोगी क्षमता बढाउन सहयोग गरेको छ,’ उनले भने, ‘दैनिक योगका याम, नियम, आसन, प्रणायाम, ध्यान, समाधि, धारणा र त्याग जस्ता आसन विधिले महामारीविरुद्ध लड्न सहयोग पुग्छ ।’ आइसोलेसनमा रहेकाको रोग प्रतिरोधक क्षमता वृद्धि गर्न आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको प्रयोगले सहयोग पुगेको उनले बताए । एन्फा एकेडेमीको आइसोलेसनमा विभिन्न जिल्लाका २१ जना संक्रमित थिए ।

प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण गर्न कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन निर्देशिका जारी गरेको थियो । त्यसमा अश्वगन्धा, पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण, च्यावनप्रास, अवलेह लगायतका जडिबुटी उपभोग गर्न, क्वारेन्टाइनमा रहेकालाई दैनिक योग अभ्यास गराउन एवं औषधि उपलब्ध गराउन प्रदेशभरका आयुर्वेद चिकित्सक परिचालन गर्ने निर्णय गरेको थियो ।

त्यही निर्देशिकाअनुसार प्रदेशका सबै जिल्ला आयुर्वेद केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई परिचालन गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । ‘योग प्रशिक्षणदेखि जडिबुटीको औषधि वितरण गर्ने गरेका छौं,’ उनले भने, ‘त्यसले बिरामीले सकारात्मक सोचको विकाससँगै कोरोनालाई सामान्य रुपमै लिन थालेका छन् ।’

बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयले रूपन्देहीका १६ वटा क्वारेन्टाइनमा योग प्रशिक्षण र औषधि वितरण गरेको छ । मन्त्रालयको निर्देशिकाअनुसार क्वारेन्टाइनमा रहेकालाई रोगसँग लड्न सक्ने क्षमता विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण र जडिबुटीजन्य औषधि वितरण गर्ने गरिएको चिकित्सालयका वरिष्ठ कविराज गणेश सापकोटाले बताए ।

‘नियमित योग अभ्याससँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाको दिनचर्या, सरसफाइका उपाय, खानपान शैली र रोग प्रतिरोधी क्षमता विकासका लागि गर्नुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका छौं,’ उनले भने, ‘रोगको सामान्य लक्षण देखिए के गर्ने देखि रोगबाट बच्ने उपायबारे पनि जानकारी दिन्छौं ।’ संक्रमण देखिँदा सर्वसाधरणमा एक्कासि बढ्ने तनाव कम गर्न पनि बिहानी योग अभ्यासले सजिलो बनाएको र मनोपरामर्शको काम गरेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका डा. पुष्पराज पौडेलले ज्येष्ठ नागरिकका लागि अश्वगन्धा चूर्ण, गुर्जो, गर्भवती महिलाका लागि सतावरी चूर्णलगायतका औषधी उपलब्ध गराइएको बताए । ‘संक्रमितले अनावश्यक तनाव लिने र त्यसले रोग प्रतिरोधी क्षमतामा कमी ल्याउँछ,’ उनले भने, ‘नाचगानदेखि जडिबुटीको प्रयोग गरेर प्रतिरोधी क्षमता विस्तार गर्ने प्रयास गरेका छौं ।’

प्रदेशबाट आइतबारसम्ममा १ सय ४३ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ मा शनिबारसम्ममा ९ सय ९३ जना संक्रमितले उपचार गराइरहेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?