बुटवलबाट ८ वर्षीया बालिकासहित ९ जना कोरोना संक्रमित निको भए

सन्जु पौडेल

बुटवल — बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका ८ वर्षीया बालिकासहित नौ जना संक्रमित कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटबल सेन्टरमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो । 

बुटवलबाट ८ वर्षीया बालिकासहित ९ जना कोरोना संक्रमित निको भए

कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाई गरे । ‘घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गरिएको छ,’ प्रमुख सुवेदीले भने, ‘सन्तुलित आहारविहारलाई जारी राख्न समेत सुझाएका छौं ।’

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ र रुपन्देहीका १ जना रहेका छन् । उनीहरु संक्रमण पुष्टि भएपछि गत जेठ ११ गते बुटवल–१० स्थित आइसोलेसन सेन्टरमा भर्ना हुन आएका थिए । त्यसरी भर्ना भएकामध्ये ७ जना भारतबाट आएका थिए । उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वरो देखिए पनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेसनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताए । २ जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए ।

कपिवलस्तुका एक जना वडाध्यक्ष र आठ वर्षीया बालिका पनि कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन् । उनीहरु बाहेक अरु सबै जना भारतबाट आएका हुन् । अब आइसोलेसनमा ३२ जना छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ । आइतबार बेलुका वा सोमबार बिहान स्वाब संकलन गरेर पठाउने गरी तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।

आइसोलेसन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेक गर्नुका साथै नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेसन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?