कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा आलोपालो बजार खोल्ने निर्णय रद्द

रूपा गहतराज

नेपालगन्ज — जिल्ला प्रशासन बाँकेले जिल्लामा निषेधाज्ञा र लकडाउन पुन: कडाइ गर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आलोपालो पसल व्यवसाय सञ्‍चालन गर्न पाउने गरी जारी गरेको निर्णय रद्द गरेको हो । 

गत मंगलबार उद्योगी, व्यवसायी एवं सर्वपक्षीय बैठकका आधारमा प्रशासनले आलोपालो पसल व्यवसाय सञ्‍चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । निर्णयपछि बिहीबार र बिहान बाँकेमा पसल, व्यवसाय खुले । तर आलोपालो पसल सञ्‍चालन गर्नेमात्र होइन सर्वसाधारणले भीडलाई व्यवस्थापन गर्न नसकेपछि प्रशासनले उक्त निर्णय रद्द गरेको जनाएको छ ।

प्रशासनले बुधबारको निर्णय खारेज गरी जेठ २१ गतेभन्दा अघिकै अवस्थामा अत्यावश्यक सेवा सूविधाबाहेक अन्य क्षेत्र बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बजार, पसलमा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पूर्व निर्णय खारेज गर्नुपरेको बताए ।

अझ लकडाउन खुकुलो पारेकै दिन बिहीबार नेपालगन्जमा २ र नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिकामा ४० जना नयाँ संक्रमित फेला परे भने बाँके जिल्लामा कोरोनाबाट १ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेका छन् ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मन्त्रालयका अनुसार उनी सुर्खेत पञ्चपुरी नगरपालिकाका हुन् । गत जेठ ८ गते भारतबाट आएका उनी १४ दिन स्थानीय क्‍वारेन्टाइनमा रहँदै आएका थिए । घर फर्किँदा आरडीटी नेगेटिभ आएको र क्‍वारेन्टाइनमा रहँदा कुनै संक्रमणको लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको हो ।

हालसम्म योसहित कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके,गुल्मी,बारा,ललितपुर,अर्घाखाँचीका, दैलेख, बाजुरा,दोलखा र पाल्पाका एक/एक एक जना गरी ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×