कोरोना पुष्टि भएका पुरुषको शव बिहीबार राति नै व्यवस्थापन गरिने 

माधव अर्याल

पाल्पा — तीन दिनअघि पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुषको शव बिहीबार राति नै व्यवस्थापन गरिने भएको छ । उनको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजिटिभ देखिएपछि सरकारले बनाएको शव व्यवस्थापन कार्यविधिअनुसार नै व्यवस्थापन गरिने प्रहरी उपरीक्षक एसपी दीपेन्द्र जीसीले बताए । मृतकका छोरा र आफन्त पूर्वखोला सिलुवाबाट आएपछि शवलाई घाट लगिनेछ ।

कोरोना पुष्टि भएका पुरुषको शव बिहीबार राति नै व्यवस्थापन गरिने 

कार्यविधिअनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने छ । उनको शवलाई सिद्धार्थ राजमार्गको चर्चरे नजिकै तिनाउ खोला र डुम्रे खोलाको दोभान नजिक तानसेन–८ अन्तर्गत डुम्रे खोला छेउमा गाडीने सुरक्षा समितिले जनाएको छ ।

मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लैजान बुटवलबाट झिकाइएको शव वाहनको प्रयोग गरिनेछ । अन्तिम संस्कार गर्नुअघि आफ्नो कुल परम्पराअनुसार शव नछोई पानी छर्किन पाउने र फूलमाला चढाउन दिइने सुरक्षा समितिले जनाएको छ । मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तीमा एक मिटर टाढाबाट हेर्न पाउनेछन् ।

पूर्वखोला गााउँपालिकाको सिलुवा घर भएका उनको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको हो । पूर्वखोला गाउापालिकाको जल्पास्थित शम्भु माविको क्वारेन्टाइनमा भारतबाट आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि ल्याइएको थियो । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पतालले आइसोलेसन कक्षमा राखेर उपचार गरेको थियो । उपचारका क्रममा उनको २० गते निधन भएको थियो । मृत्युअघि र पछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पाल्पामा मृत्यु भएका पुरुषको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार पुष्टि गरेको हो । प्रयोगशालाले स्वाब परीक्षणमा ढिलाई गर्दा उनको शव तीन दिनदेखि अस्पतालमै थियो ।


प्रकाशित : जेष्ठ २२, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?