३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्‍वारेन्टाइनमा बाबु बिते, छोराहरु किरिया बस्न पाएनन्

स्वास्थ्य परीक्षण नगरी घर नजानु भनेका कारण उनीहरु खेतमै बस्दै आएका छन् । घटनाको ८ दिन बितिसक्दा पनि आरडीटी परीक्षण गरिएको छैन ।
कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका-९ का ५५ वर्षीय जोद्दी गोडियाको जेठ १४ गते क्‍वारेन्टाइनमै मृत्यु भयो । तर, उनका छोराहरु किरिया गर्न नपाई हाल खेतमा बसिरहेका छन् ।

क्‍वारेन्टाइनमा बाबु बिते, छोराहरु किरिया बस्न पाएनन्

लकडाउनले रोजगारी गुमेएपछि अछामबाट ४ दिनसम्म भोकभोकै हिँडेर आएका गोडियाले क्‍वारेन्टाइनमा एक रात बिताएपछि भोलिपल्ट प्राण त्यागेका थिए । जोद्दीको मृत्युको कारण खुलिसकेको छैन । भोककै कारण उनको मृत्यु भएको पत्नी नन्कई बताउँछिन् । बाबुसँगै काम गर्न छोराहरु २२ वर्षीय प्रह्लाद र २० वर्षीय विष्णु पनि अछाम गएका थिए । क्‍वारेन्टाइनमा बसेका छोराहरुलाई स्वास्थ्य परीक्षण नगरी स्वास्थ्यकर्मीले घर नजानु भनेका कारण खेतमै बस्दै आएको नन्कईको भनाइ छ । उनीहरु घरबाट पकाएको खाना खेतमै लगेर खाने गरेका छन् ।

आरडीटी परीक्षण नभएसम्म कसैसँग सम्पर्क नराख्नु भनेकाले घर नगई खेतमै खाने, बस्ने गरेको उनीहरु बताउँछन् । 'बुबाको किरिया गर्न पाएका छैनौं,' विष्णुले भने, ‘स्वास्थ्य परीक्षण पनि कहिले हुने हो थाहा छैन ।'

जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीका अनुसार ६ दिनमै आरडीटी गर्नुपर्ने हो । तर ८ दिन बितिसक्दा परीक्षण नभएको विष्णु बताउँछन् । गिरीले घरमा किरिया गर्न हुँदैन भनेर कसैले नभनेको दाबी गरे ।

सडक निर्माणका लागि गत फागुन ५ गते बाबुछोरा अछामको साँफेबगर पुगेका थिए । चैत ११ गते देखि लकडाउन सुरु भएपछि काम रोकिँदा उनीहरु बेरोजगार भए । करिब एक महिनापछि लकडाउनमै विकास निर्माणका काम सुरु भए पनि ठेकेदार कम्पनीले ज्यालाबापत रकम नदिएका कारण पैदलै घर फर्किएका थिए । करिब अढाई महिनाको अवधिमा काम गरेबापत ५४ हजार रुपैयाँ पाउनुपर्नेमा ११ हजारमात्र पाएको विष्णुले बताए । उनीहरुसहित १६ जना जेठ ११ गते साँफेबगरबाट हिँडेका हुन् । घरका अन्य ४ सदस्य क्‍वारेन्टाइनमा ८ दिनदेखि बसिरहेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?