१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बुटवलमा अब अत्यावश्यक सामग्रीका पसल सातै दिन खुल्ने

सन्जु पौडेल

तिलोत्तमा (रूपन्देही) — उद्योगी–व्यवसायीको व्यापक असन्तुष्टिपछि बुटवल उपमहानगरले बिहीबारदेखि लकडाउन आंशिक खुकुलो बनाएको छ । यसअघि अत्यावश्यक सामग्रीका लागि सातामा ३ दिन मात्र बजार खोल्न दिइएकोमा अब साताभरि खोल्न पाउने व्यवस्था गरिएको छ ।

बुटवलमा अब अत्यावश्यक सामग्रीका पसल सातै दिन खुल्ने

बुटवलमा क्रियाशील उद्योग–व्यवसायी संघसंस्थाको परामर्शमा उपमहानगरले लकडाउन खुकुलो बनाउने कार्यक्रमसहित नयाँ निर्णय गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए ।

उपभोक्ताको प्रत्यक्ष सम्पर्क नहुने अत्यावश्यक सामग्रीको थोक बिक्रीका लागि १० देखि ३ बजेसम्म पसल खोल्न पाइने भएको छ । उपमहानगरको सूचनामा यस्ता पसल सञ्चालन गर्दा संघीय सरकारले तोकेको सामाजिक दुरी कायम गर्न अनिवार्य रहेको उल्लेख छ ।

त्यसै गरी डेरीलगायत पसलहरू बिहान र साँझ ३ घण्टा खुल्नेछन् । कृषि औजार, मेसिनरी तथा निर्माण सामग्रीका पसलका लागि बिहान ९ देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । उपमहानगरको सूचनामा बैंक तथा वित्तीय संस्थाहरू सार्वजनिक बिदाका दिनबाहेक पूर्ववत् सञ्चालन गर्ने व्यवस्था गरिएको छ । स्थानीय कृषि उत्पादकले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्ना उत्पादन बेच्न पाउनेछन् । यसरी बिक्री हुने तरकारीको स्थानीय पालिकाहरूले स्वीकृति दिएको हुनुपर्ने उल्लेख छ ।

उपमहानगरले संघीय सरकारको निर्णयअनुसार सार्वजनिक सवारी, सिनेमा हल, जिमखाना, नाट्यशाला, फनपार्क, पार्टी प्यालेस, होटल, रेस्टुरेन्टजस्ता जमघट हुन सक्ने व्यवसायलाई भने पूर्ण रूपमा बन्देज लगाएको छ । स्कुल, कलेज, ट्युसन सेन्टरजस्ता संस्था पनि अर्को सूचना जारी नहुँदासम्म सञ्चालन नगर्न भनिएको छ ।

उपमहानगरले तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेको अवस्थामा कुनै पनि बेला पसल बन्द गराउन सकिने चेतावनीसमेत दिएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?