कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल भरिएपछि दाङका संक्रमित क्वारेन्टाइनमै

दुर्गालाल केसी

दाङ — बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल भरिएपछि थप संक्रमितलाई राख्ने ठाउँ अभाव भएको छ । सोमबार र मंगलबार संक्रमण पुष्टि भएका १७  मध्ये घोराही र बंगलाचुलीका १५ संक्रमित क्वारेन्टाइनमै छन् ।

अस्पताल भरिएपछि दाङका संक्रमित क्वारेन्टाइनमै

राप्ती गाउँपालिकाका दुई जनालाई भने नेपालगन्ज लगिएको छ ।

५१ जना कोरोना संक्रमित भर्ना भइसकेकाले थपलाई राख्ने ठाउँ नभएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए । अस्पतालमा कोरोना पोजिटिभलाई ५० शय्या र उपचारपछि पहिलोपटक नेगेटिभ रिपोर्ट आएकालाई राख्न ५० शय्या छुट्याइएको छ । दोस्रोपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र डिस्चार्ज गरिन्छ । अस्पतालमा प्रदेश ५ का विभिन्न जिल्लाका बिरामी छन् ।

कोरोना अस्पतालमा १ सय शय्याको क्षमता भए पनि जनशक्ति र अन्य व्यवस्थापनका कारण थप बिरामी राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । अहिले थप संक्रमितलाई क्वारेन्टाइनमै अन्यभन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

अहिले घोराहीको दक्षिण अमराईस्थित फनपार्क र लमहीको नेत्रलाल अभागी स्मृति भवनमा आइसोलेसन बनाउने काम भइरहेको रिजालले बताए । ‘सकेजति आइसोलेसन शय्या बन्दै छन् । त्यति बेलासम्म संक्रमितलाई क्वारेन्टाइनमै राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘परीक्षणमा ढिलाइ भएका कारण पनि आइसोलेसन र क्वारेन्टाइन भरिएका छन् । अब परीक्षणको गति बढाउनुपर्ने भएको छ ।’

अब विस्तारै हरेक स्थानीय तहमै क्वारेन्टाइनलाई आइसोलेसनका रूपमा व्यवस्थित गर्नुपर्ने समय आएको स्वास्थ्य कार्यालयप्रमुख सुनीता पौडेलले बताइन् । भारतबाट आउने मानिस बढेसँगै संक्रमित पनि थपिँदै गएकाले सबैलाई अस्पतालमा राख्न कठिन हुने उनले बताइन् ।

दाङमा संक्रमितहरूको संख्या ५४ पुगेको छ । तीमध्ये गढवाका एक र तुलसीपुरका एक पुरुष उपचारपछि निको भइसकेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ४ हजार ६ सय १६ नमुना संकलन भएकोमा ३ हजार २२ को पीसीआर परिक्षण भएको छ । तीमध्ये १ सय २४ मा पोजिटिभ र २ हजार ८ सय ९८ मा नेगेटिभ देखिएको प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवले बताए । अझै १ हजार ५ सय ९४ नमुना परीक्षणकै प्रक्रियामा रहेको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?