गाडी नपाउँदा पाल्पाका एक संक्रमित अझै क्वारेन्टाइनमै

माधव अर्याल

पाल्पा — पाल्पाको माथागढीस्थित बहादुरपुर क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितलाई अझै आइसोलेसनमा लगिएको छैन । सवारीसाधन व्यवस्थापन नहुँदा उनलाई सदरमुकामस्थित आइसोलेसनमा ल्याउन ढिलाइ भएकाे हो ।


केही सवारीसाधन चालकसँग कुरा गर्दा बाेक्नै नमानेको गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए ।

कोरोना संक्रमण देखिएका रैनादेवी–छहरा गाउँपालिकाको छहरा क्वारेन्टाइनका दुई जनालाई भने आइतबार राति नै तानसेनको आइसोलेसन कक्षमा ल्याइएको छ । रैनादेवी छहराको भैरव नवदीप क्वारेन्टाइनमा रहेका उनीहरूलाई तानसेन, भुसालडाँडास्थित वृद्धाश्रममा निर्माण गरिएको आइसोलेसनमा ल्याइएको हो । उनीहरूलाई पाल्पा अस्पतालको एम्बुलेन्सले बाेकेको थियो ।

माथागढीको बहादुरपुर भने सदरमुकामबाट धेरै टाढा पर्छ । साताअघि भारतबाट आएका तीनै जनामा आइतबार बेलुकी प्रदेश प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

रैनादेवी छहरामा संक्रमण पुष्टि भएकाहरू स्वाब लिइएपछि पनि ६० जनाभन्दा बढीसँग घुलमिल भएको पाइएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनका अनुसार क्वारेन्टाइनका दुई ब्लकमध्ये एउटामा उनीहरू घुलमिल गरेका थिए । संक्रमण पुष्टि भएकाहरूसँगै २६ जनाको स्वाब लिइएको थियो ।

माथागढी गाउँपालिकाका संक्रमित कसेनी र रहवासको क्वारेन्टाइनमा दुई/दुई दिन बसेर गएका हुन् । उनी अहिले बसेको क्वारेन्टाइनमा २४, कसेनीमा २४ र रहवासमा २५ जनासँग घुलमिल भएका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

सबैका प्यारा राजा

राजा वीरेन्द्रले आन्तरिक राजनीतिमा सबै अटाउने र कूटनीतिमा थोरै बोल्ने तर धेरै गर्ने बाटोको अनुसरण गरेको देखिन्छ ।
टीका धमला

म राजा वीरेन्द्रको २०३८ जेठ १५ देखि २०५८ जेठ १९ सम्म २० वर्ष अविच्छिन्न रूपमा अंगरक्षक रहें । त्यस अवधिमा नेपालका कुनाकुनामा पुग्दा र कैयौँ विदेशी मुलुक सँगै डुल्दा मैले उहाँमा पाएका राष्ट्रियता र सर्वांगीण विकासका कति धारणा शिक्षाप्रद छन् ।

आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय विकास र राजनीतिका विषयमा उहाँले आफ्ना समकक्षीसित गरेका कैयौँ कुरा मेरो मानसपटलमा ताजै छन् । साधारण नेपाली जनताप्रति उहाँको अभिभावकत्व मनै छुने थियो । यो सबै सम्झँदा त्यस्तो गुणको अनुकरण गर्ने नेतृत्व अब नेपालले पाउला कि नपाउला भन्ने छटपटी हुन्छ ।

राजा वीरेन्द्र देशभित्र, क्षेत्रीय र अन्तर्राष्ट्रिय जगत्मा सबैभन्दा बढी रुचाइएका राजा थिए भन्दा दुईमत हुँदैन । उहाँको शासनकालमा समग्र नेपाल र नेपालीको जय होस् भन्ने वातावरण थियो । केही राजनीतिक नेतृत्वसँग समग्र विकासबारे मतान्तर नभएका हैनन् । तर राष्ट्रिय एकता र राष्ट्रियताको सवालमा त्यस्तो मतभिन्नता भएन । राष्ट्रियता र समग्र प्रगतिका लागि शिक्षा र सञ्चारको विकास अपरिहार्य हुन्छ भन्ने उहाँको अडान थियो । राष्ट्रियताका लागि नैतिक र धार्मिक शिक्षा पनि आवश्यक हुन्छ भन्ने उहाँको स्पष्ट धारणा थियो ।

राजा वीरेन्द्रको निधनपछि विशेषतः २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् नेपालमा अनौठो वातावरण सिर्जना भएको छ । आज अखण्ड नेपालको जय होस् भन्न छाडेर कताकता हिमालको मात्र जय होस, पहाडको मात्र जय होस्, तराईको मात्र जय होस्, क्षत्री-बाहुनको मात्र जय होस्, राई-लिम्बूको मात्र जय होस्, यादव-थारूको मात्र जय होस् भन्ने सोचतर्फ नेपाली समाज गएको संकेत देखिन्छ । हामीलाई पुर्खाले आर्जेको एउटा अखण्ड नेपाल चाहिएको छ । न कि नेपालभित्रको अर्को नेपाल ।

राजा वीरेन्द्रमा बुद्ध धर्मको ‘बोधिचित्त’ का गुण पनि थिए । करुणाको एउटा रूप बोधिचित्त हो । यसलाई दुई रूपमा लिइएको पाइन्छ । एउटा अरूलाई परेको दुःख आफ्नै ठानी त्यसलाई मुक्त गरिदिने, जसलाई ‘बोधी प्रविधि चित्त’ भनिन्छ । अर्को भएको दुःख मुक्तिका लागि आफैं लागिपर्ने जसलाई ‘बोधी प्रस्थान चित्त’ भनिन्छ । यी दुवै गुण भएका व्यक्तिलाई युग पुरुष भनिन्छ । यस्ता सबै नभए पनि केही थोरै गुण राजा वीरेन्द्रमा पनि भएको मैले महसुस गरेको छु ।

२०२८ सालमा राज्यारोहणपछि २०२९ वैशाख १ गते राष्ट्रिय विकास परिषद् गठन गरी २०४६ सालसम्म राजा वीरेन्द्रकै अध्यक्षतामा नेपालको समग्र विकास क्रमिक रूपमा भैरहेको थियो । त्यस अवधिमा विभिन्न राजनीतिक, सामाजिक, आर्थिक बाधा-अड्चनहरूको सामना पनि गर्नैपरेको थियो । त्यसबीचका कति घटना सम्झन्छु । २०३९ सालमा धनकुटाको टुँडिखेल नजिक एउटा कट्टुबिना फाटेको कमिज मात्र लगाएको १०-१२ वर्षको बालकसँग होस् या २०४२ मा रसुवाको धुन्चेमा स्थानीय तामाङसँग या वीरगन्जको रिक्साचालकसँग, सबैसँग उहाँले आत्मीयतापूर्वक भलाकुसारी गर्नुभएको थियो ।

राजा वीरेन्द्रका विवेकपूर्ण संयमित निर्णयहरूका कैयौँ उदाहरणमध्ये भारतले नेपालमाथि २०४५ सालमा लगाएको नाकाबन्दी र बहुदल आएपछि आर्थिक विधेयकको रूपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट लालमोहरका लागि दरबारमा ल्याइएको नागरिकता विधेयकप्रति उहाँको दृढ संकल्प र धारणालाई लिन सकिन्छ । उहाँको शासनकालपछि आजसम्म नेपालले कैयौँ उतारचढाव पार गरिसक्यो, तर पनि राजनीतिक स्थायित्वको अनुभूति महसुस गर्न सकेको छैन । नेपालको राष्ट्रियता क्रमिक रूपमा कमजोर हुँदै गएको छ । छिमेकीलगायत अन्य मूलुकसँगको सम्बन्ध दिनानुदिन कमजोर हुँदै गएको छ । नेतृत्वहरूले जनताको विश्वास गुमाइसकेका छन् । सत्ताभोगी, अप्राकृतिक र फोहोरी राजनीतिक खेलको कारण प्रजातन्त्रका आदर्श मूल्य र मान्यताहरू धराशायी हुँदै छन् । संस्थागत भ्रष्टाचारले नेटो काटिसकेको छ । एउटै दलभित्र पनि गुट-उपगुटको संक्रमणको गति कोरोनाको भन्दा पनि बढी देखिएको छ । यसको समाधानका लागि हाम्रो चिन्ता, भय र दुःख हरण गर्न सक्ने संकल्पसहितको दृढ संघर्षशील राजा वीरेन्द्रजस्तै करुणावान राष्ट्रवादी नेतृत्व आवश्यक छ ।

संसारको इतिहासमा जुन-जुन देशका नेतृत्वले राष्ट्र र राष्ट्रियतालाई मूलमन्त्र सम्झी सही राजनीति र कूटनीति अपनाए उनीहरू सफल भएको देखिन्छ । यसमा देश सानो वा ठूलो, धनी वा गरिब भन्ने हुँदैन । राजा वीरेन्द्रको शासनकालमा नेपालको राजनीति र कूटनीतिले विभिन्न अप्ठ्यारा बाटाहरू पार गरेको सर्वविदितै छ । उहाँले आन्तरिक राजनीतिमा सबै अटाउने र कूटनीतिमा थोरै बोल्ने र धेरै गर्ने बाटोको अनुसरण गरेको देखिन्छ । त्यसैले २०३६, २०४२ र २०४६ का असहज परिस्थितिमा राष्ट्र र राष्ट्रियताको सवालमा दृढ रही आपसी छलफलबाटै समस्या समाधान गर्न उहाँ सफल हुनुभयो । के त्यसैगरी ०६२/६३ पछिका समस्याहरू हामी आफैंले समाधान गरेका छौं त ?

नेपाली जनतालाई सार्वभौम बनाउन संवैधानिक राजाको रूपमा राजा वीरेन्द्रबाट खेलिएका भूमिका नेपालको इतिहासमा सधैं रहिरहने स्पष्ट छ । सरल स्वभावका वीरेन्द्रलाई कौटिल्यको दृष्टिकोणमा समेत उच्चस्तरको राजाका रूपमा लिन सकिन्छ । कौटिल्यको दृष्टिमा तीन प्रकारका राजा हुन्छन् । पहिलो ‘अन्ध’ (शास्त्र मर्यादा नजान्ने, सल्लाहकारहरूले भनेको पनि नमान्ने) दोस्रो ‘चलित शास्त्र’ (जानीजानी शास्त्र मर्यादा तोड्ने) र तेस्रो ‘शास्त्र मर्यादा सम्पन्न’ (अनुभवी, जनतासँग पनि राज्य सञ्चालनका लागि परामर्श गर्ने, परम्पराको मर्यादापालक, भाषणअनुसार आचरण गर्ने, राष्ट्र र राष्ट्रियताप्रति समर्पित इत्यादि) । राजा वीरेन्द्र ‘शास्त्र मर्यादा सम्पन्न’ हुनुहुन्थ्यो भन्नेमा दुविधा देखिँदैन । उहाँलाई सबैले भएको नियम-कानुनलाई अक्षरशः पालना गर्ने राजाका रूपमा चिन्छन् । जोसँग कुरा गर्दा पनि मुसुक्क मुस्कुराउने राजा वीरेन्द्रको बानी थियो । कुनै असहाय-अन्यायमा परेका भोका नांगा नेपालीका कथा र व्यथा सुन्दा भने तुरुन्तै उहाँको मुहार निन्याउरो बन्थ्यो । २०४७ सालको संविधानले स्थापना गरेका संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्थाले नेपालको समग्र विकासमा राजा, जनप्रतिनिधि र जनताबीचको हातेमालोले ठूलो फड्को मार्नेछ भन्ने दृढ विश्वास उहाँमा थियो । तर, जनप्रतिनिधिबाट प्रजातान्त्रिक संस्कारको पालना भएन । गरिब जनताको भोटलाई नोटमा किन्न सुरु भयो । उक्त कमजोरीमा बाह्य शक्तिको आँखा लाग्न गयो र कताकता देशबाहिरैबाट सञ्चालित भएका जस्तो देखियो । देशभित्र आन्तरिक द्वन्द्वको बीजारोपण गराई नेपाललाई अस्थिरताको बाटोतर्फ लगियो यसको पात्र हामी नेपाली बन्यौँ ।

२०५४/५५ सालतिर स्वदेशी नागरिक समाज, केही राजनीतिक नेतृत्व र केही विदेशी कूटनीतिक प्रमुखहरूसमेतले राजा वीरेन्द्रसँग राजनीतिक नेतृत्वहरूको व्यक्तिगत र दलगत स्वार्थले राज्यव्यवस्था सञ्चालन भएको गुनासा गर्न लागे । एक विदेशी राजदूतले त राजासँग ठाडै ‘यसरी चुप लागेर बस्नु भएन, केही राजनीतिक कदम चाल्नुपर्‍यो’ भनेका थिए । यसमा राजा वीरेन्द्रको उत्तर थियो- वर्तमान अवस्थामा संसदीय व्यवस्थाको कुनै विकल्प खोज्नु हुन्न, सबै मिलेर प्रजातन्त्रलाई सुदृढ बनाउनुपर्छ । सायद जेठ १९ गतेको त्यो कहालीलाग्दो घटना नभएको भए राजा वीरेन्द्रको सुजबुझपूर्ण नेतृत्वदायी भूमिकाले गर्दा आज नेपाल यस्तो अस्थिर अवस्थामा पुग्ने थिएन कि !

(राजा वीरेन्द्रका अंगरक्षक धमला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।)

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×