दाङमा दुई स्वास्थ्यकर्मीसहित थप ९ जनामा कोरोना

दुर्गालाल केसी

दाङ — क्‍वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित जिल्लामा आइतबार थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

दाङमा दुई स्वास्थ्यकर्मीसहित थप ९ जनामा कोरोना

गढवा गाउँपालिकाले सञ्चालन गरेको जनता मावि क्‍वारेन्टाइनमा खटिएका लमही नगरपालिका १ का ४० वर्षीय र राप्ती गाउँपालिका ८ का ३६ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण गरिएको थियो ।

लकडाउन भएपछि दुवै स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले बताए । ‘उहाँहरु सुरुदेखि नै क्‍वारेन्टाइनमै खट्नुभएको थियो । सुरुमै त्यही क्‍वारेन्टाइनमा रहेकालाई कोरोना देखिएको थियो,’उनले भने,‘पछि स्वास्थ्यकर्मीलाई पनि देखियो । उहाँहरु आजसम्म घर जानु भएको छैन । क्‍वारेन्टाइनमै बसेर त्यहीं रहेका मानिसहरुको सेवामा खट्नुभएको थियो ।’

यसैगरी गढवाको उक्त क्‍वारेन्टाइनमा बसेका गढवा ६ का ३६ वर्षीय र गढवा ७ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । दुवै जना भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए । गढवामा जिल्लामै पहिलोपटक भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि अन्यमा पनि संक्रमण फैलिएको हो । चारै जनालाई कोरोना विशेष अस्पताल बेलझुन्डी पठाइसकेको चौधरीले जानकारी दिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ५ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा तुलसीपुर ६ का २० वर्षीय, १५ का ३२ वर्षीय र १६ का १८, २० र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताए । उनीहरु तुलसीपुरको गुरुजजुर मावि रक्षाचौर क्‍वारेन्टाइनमा बसेका थिए । योसँगै दाङमा संक्रमितहरुको संख्या ३७ पुगेको छ । तीमध्ये गढवाका एक र तुलसीपुरका एक पुरुष कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?