बर्दियामा महिलालाई छुट्टै क्‍वारेन्टाइन- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा महिलालाई छुट्टै क्‍वारेन्टाइन

कमल पन्थी

बर्दिया — बर्दियाको सदरमुकाम गुलरियामा महिलाहरुका लागि क्वारेन्टाइन निर्माण गरिएको छ । गुलरियास्थित कोटही माध्यमिक विद्यालयमा २५ बेड क्षमताको क्वारेन्टाइनको व्यवस्था नगरपालिकाले गरेको हो ।

आइतबारबाट सञ्चालन गरिएको उक्त क्वारेन्टाइनमा ५ जना महिला बसेका छन् । सबै महिला भारतबाट यहाँ आएका हुन् । क्‍वारेन्टाइन सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

महिला प्रहरी र स्वास्थ्यकर्मी रहेकाले क्‍वारेन्टाइनमा बसेका महिलाका लागि आफ्ना समस्या सहज ढंगले सुनाउने र खुलेर स्वास्थ्य उपचार गर्न सहज हुनेछ ।

यसअघि महिला र पुरुषहरुलाई एउटैस्थलमा राखिएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए । महिलाको संख्या बढ्दै गएपछि अन्य पालिकामा पनि क्वारेन्टाइन निर्माण गरिने जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । जिल्लामा १ सय ४४ क्वारेन्टाईनमा महिला पुरुष गरि ३ हजार ९ सय १८ जना रहेका छन् ।

जिल्लाको आठ वटै पालिकामा ४ हजार बेडको क्षमता भएको क्‍वारेन्टाइन भरिदै गएको छ । भारतबाट आउने क्रम बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको प्रजिअ लामिछानेले बताए । जिल्लामा ८० बेडको आइसोलेसन तयारी अवस्थामा छ । ती मध्ये कोरोना संक्रमित तीन जना राजपुरको आइसोलेसन केन्द्रमा उपचारका लागि भर्ना भएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाले नेपालमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस मिटमा बोल्दै प्रवक्ता डा विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको जनाए । उनको आइतबार बिहान मृत्यु भएको थियो ।

त्यसैगरी, शनिबार दुल्लु नगरपालिका ११ दैलेखका का ३५ वर्ष पुरुषको कोरानाले मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।

बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो । यो सँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक र यो गरी ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×