२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

राप्ती सोनारीमा विवाद बढेपछि स्वाब संकलनको काम रोकियो

ठाकुरसिंह थारु

नेपालगन्ज — राप्ती सोनारी गाउँपालिका–८ मा स्वाब संकलनको विषयलाई लिएर विवाद बढेपछि कोरोना जाँचका लागि स्वाब संकलनको काम रोकिएको छ । वडाध्यक्षसहित ७ जना कोरोना संक्रमित भेटिएपछि स्थानीयले गाउँभरिका सबैको स्वाब जाँच गर्नुपर्ने माग गरेपछि विवाद भएको हो । स्वास्थ्यकर्मीहरुले भने क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन पहिलो प्राथमिकता रहेको बताएका छन् ।

राप्ती सोनारीमा विवाद बढेपछि स्वाब संकलनको काम रोकियो

वडाध्यक्षले आफू र क्वारेन्टाइनमा बसेका ६ जना संक्रमितलाई घर पठाएका थिए । घर पठाएको तीन/चार घण्टापछि स्वास्थ्य मन्त्रालयले कोरोना भएको पुष्टि गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा फर्काइएको छ । वडाध्यक्ष भारतबाट फर्किनेहरुलाई लिन र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका बेला संक्रमित भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयको टोली शनिबार स्वाब संकलन गर्न पुगेका थिए । उनीहरुसँग स्वाब राख्न ८७ भिटिएम थियो ।

वडाध्यक्ष र संक्रमित व्यक्तिहरुकाे सम्पर्कमा आएका करिब डेढ सय बढीको नाम ट्रेसिङमा परेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले विवादपछि स्वाब संकलनको काम रोकिएको बताए । उनले स्वाब संकलनका लागि वातावरण मिलाउने प्रयास भइरहेको बताए । विवादपछि एक दर्जन स्वाबको संकलन गरी स्वास्थ्यकर्मी फर्किएका छन् ।

गाउँपालिका प्रमुख लाहुराम थारुले कोरोना संक्रमण भएका वडाध्यक्षको सम्पर्कमा धेरै व्यक्तिहरु आएकाले स्वाब संकलनका लागि स्थानीयले माग गरेको बताए । ‘वडाध्यक्ष धेरैको सम्पर्कमा पुग्नु भएको खबर छ । त्यसैले गाउँभरिकाले स्वाब संकलन गर्न माग गरेका हुन्,’ उनले भने, ‘समस्या समाधान भइसकेको छ । अब फेरि काम सुरु हुन्छ ।’ राप्ती सोनारीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । राप्ती सोनारीको वडा नम्बर २ मा २ जना, ७ मा २ जना, ८ मा ५ जना र वडा नम्बर ९ मा २ जना गरी ११ जना संक्रमित पुगेका हुन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?