कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश ५ मा सकिए परीक्षण किट

रोकिँदै स्वाब संकलन र परीक्षण, क्वारेन्टाइन अवधि पूरा गरेकालाई परीक्षणबिनै घर पठाउने तयारी

रूपन्देही/भैरहवा — प्रदेश ५ मा कोभिड–१९ परीक्षणमा आवश्यक र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र भीटीएम किटको अभाव भएको छ । किट नहुँदा भारतबाट आएर क्वारेन्टाइनमा दुई साता बसेकामध्ये कुनै लक्षण नदेखिएकाको आरडीटी र लक्षण देखिएकाको पीसीआर परीक्षण रोकिएको छ ।

प्रदेश ५ मा सकिए परीक्षण किट

प्रदेशको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार शनिबारसम्ममा क्वारेन्टाइनमा १४ दिन पूरा गर्नेको संख्या झन्डै पाँच हजारभन्दा बढी छ । अधिकांशमा कुनै लक्षण देखिएको छैन । लक्षण नदेखिए पनि आरडीटी गरेर घर पठाउने सरकारको योजना थियो । ‘तर अहिले प्रदेशमा आरडीटी किट नै छैन,’ उनले भने, ‘केही दिनभित्रै आउने अवस्थामा छ ।’ प्रदेशका १ हजार ३ सय १२ क्वारेन्टाइनमा शुक्रबार साँझसम्ममा ३३ हजार ५ सय ६ जना छन् । तीमध्ये ११ हजारभन्दा बढीको सोमबार १४ दिन पुग्दै छ ।

पछिल्लो समयमा पहाडी जिल्लामा पनि भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । पहाडी ६ जिल्लामध्ये शुक्रबारसम्ममा प्यूठानमा मात्र ५ हजार ५ सय ८९ जना छन् । तीन सयभन्दा बढीको १४ दिन पूरा भएको छ । जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले जिल्लामा भीटीएम एक सय थानमात्र रहेको बताए । किट उपलब्ध नभए अवधि सकिएपछि थप सात दिन होम क्वारेन्टाइनमै बस्ने गरी घर पठाउनुपर्ने अवस्था रहेको उनले बताए ।

गुल्मीमा १ हजार ८ सय ९ जना क्वारेन्टाइनमा छन् । तीमध्ये २ सय ५० भन्दा बढीको बसाइ अवधि पूरा भएको छ । तर परीक्षणबिना पठाउनुपर्ने अवस्था आएको जनस्वास्थ्य प्रमुख डा. भवानी शर्माले बताए । ‘भीटीएम १ सय २० र आरडीटी दुई सयजति छन्,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भइरहेकाले दुवै किट अभाव छ ।’ दुवै किट तीन/तीन हजार थान माग गरेको भए पनि उपलब्ध नभएको उनले बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख दिनेश चापागाईंले शनिबारसम्ममा तीन हजार थान भीटीएम स्टकमा रहेको बताए । आरडीटी किट भने शून्य छ । सोमबारसम्ममा आइपुग्ने जानकारी आएको उनले बताए । ‘भीटीएम दुई हजार र आरडीटी २५ हजार आउने हल्ला छ,’ उनले भने, ‘तराईका जिल्लामा भीटीएम र पहाडी जिल्लामा आरडीटीको माग बढी छ ।’ तर धेरै स्थानीय तहले आफैं पनि खरिद प्रक्रिया अघि बढाएकाले ठूलो समस्या नरहेको उनले बताए । सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार दुवै किट अभाव भएकाले १४ दिन क्वारेन्टाइन बसेकालाई थप सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने विषयमा छलफल चलेको छ ।

प्रयोगशालाको क्षमता बढाइने

भैरहवाको जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ को पीसीआर परीक्षण क्षमता बढाउने तयारी गरिएको छ । परीक्षणका लागि चाप बढ्दै गएपछि क्षमता बढाउने तयारी गरिएको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । दुई जना कर्मचारी थप गरिएको, सबै कर्मचारीलाई सिफ्ट मिलाएर रातिमा पनि प्रयोगशाला सञ्चालन गर्न थालिएको र परीक्षणका लागि अर्को एक मेसिन थप्न लागिएको उनले जानकारी दिए । पहिला पीसीआर परीक्षणको रिजल्ट ४८ घण्टाभित्र दिने गरिएकामा अहिले नमुुना अत्यधिक आउन थालेपछि तीन–चार दिन लाग्ने गरेको उनले बताए । प्रदेशका सबै प्रयोगशालामा कोभिड–१९ को आरडीटी र पीसीआर दुवै परीक्षण गर्न आवश्यक पर्ने किट भने हाललाई रहेको उनले जनाए ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?