हत्या अभियोगमा ४ पक्राउ

दुर्गालाल केसी

दाङ — तुलसीपुरका मन्दिप भुजेलको हत्या उनकै ४ जना साथीहरु मिलेर गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले निष्कर्ष निकालेको छ ।

हत्या अभियोगमा ४ पक्राउ

हत्यामा संलग्‍न रहेको अभियोगमा भुजेलका साथीहरू तुलसीपुर उपमहानगरपालिका–१८ का ओमबहादुर सार्की, तुलसीपुर–६ कपडादेवीका सौरभ पोख्रेल, तुलसीपुर–५ का अजय बुढाथोकी र आशिस नेपाली पक्राउ परेका छन् । आरोपितहरुले शुक्रबार राति करिब ११ बजेदेखि १२ बजेको बीचमा ढुंगाले टाउकोमा थिचेर भुजेलको हत्या गरेको प्रहरीले बताएको छ ।

भुजेलले तुलसीपुरको अटोभिलेजदेखि उत्तरतर्फ रहेको एक होटेलमा राति ८ बजेदेखि केहि साथीहरूसँग बसेर मादकपदार्थ सेवन गरेका थिए । त्यही क्रममा राति अरू साथीहरू थपिए र उनको हत्या गरेको खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक चक्र डम्बरपालले बताए ।

अटोभिलेजमा २ वर्षदेखि काम गर्दै आएका भुजेललाई शनिबार बिहान तुलसीपुर–५ स्थित ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि अनुसन्धान थालेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अन्त्यमा ४ जनाले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको प्रहरी निरीक्षक डम्बरपालले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?