३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अवैध रुख काटेको आरोपमा उपभोक्ता समितिका अध्यक्षसहित ३ पक्राउ

माधव अर्याल

पाल्पा — लकडाउनको मौकामा कटान आदेशभन्दा झण्डै तेब्बर बढी काठ काटेको आरोपमा वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने तानसेन नगरपालिका–११ बन्दीपोखराका तिलाहार साखर सल्लेरी सामुदायिक वनका अध्यक्ष गणेशप्रसाद घिमिरे, कोषाध्यक्ष अमरबहादुर राना र काष्ठ व्यवसायी नविन घिमिरे रहेका छन् । उनीहरु जेठ १३ गते पक्राउ परेका हुन्।

अवैध रुख काटेको आरोपमा उपभोक्ता समितिका अध्यक्षसहित ३ पक्राउ

उनीहरुलाई अनुसन्धानका क्रममा प्रहरी कार्यालयको हिरासतमा राखिएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत अर्जुनप्रसाद चापागाईले बताए । उनका अनुसार डिभिजन वन कार्यालयले तोकेको कटान आदेशभन्दा ३ हजार ५ सय २६ क्युफिट बढी काठ काटेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।

वन कार्यालयले तिलाहार सामुदायिक वनलाई कार्ययोजना अनुसार २ हजार ७४ क्युफिट काठ काट्न आदेश दिएको रेञ्जर यमलाल पोखरेलले बताए । सामुदायिक वनले ५ हजार ६ सय क्युफिट काठ काटेर घाटगद्दीका लागि बाहिर लगेको थियो । स्थानीयका अनुसार अघिल्लो वर्ष पनि यसैगरी काठ बढी काटेपनि कुनै कारबाही भएको थिएन । सोही सामुदायिक वनका एक सदस्यका अनुसार अघिल्लो वर्ष पनि कार्यसमितिले निर्णय गरेर सोझै फर्निचरमा काठ दिएका थिए । रुख कटान गरेको स्थानभन्दा केही तल घाटगद्दी गर्ने स्थान छ ।

काटिएको स्थानभन्दा एक किलोमिटर टाढा रहेको फर्निचर र स: मिल नजिक लगेर जथाभावी राखिएको छ । अहिले त्यो काठ फर्निचरकै शोरुम, बारी, खरबारी र तानसेन तेल्घा सडक खण्डको बाटोमै लथालिङ्ग अवस्थामा राखेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार घाटगद्दीपछि मात्र त्यसको परिमाण हेरेर लिलाम हुन्छ । पाल्पामा विभिन्न सामुदायिक वनमा कतिपय सामुदायिक वनले पदाधिकारी र कर्मचारीको मिलेमतोमा सोझै फर्निचरलाई बिक्री गर्दै आएका छन् । लकडाउनका अवधिमा जिल्लाका अधिकांश सामुदायिक वनले काठ व्यवसायीको मिलेमतोमा जथाभावी घाट गद्दी गर्ने र वन कार्यालयका कर्मचारीको मिलेमतोमा थोरैको मात्र लिलाम सूचना निकाल्ने गर्दै आएका छन् ।

डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत चापगाईका अनुसार २५ दिनभित्र जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश हुनेछ । अनुसन्धानका क्रममा रहेपनि उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?