रोल्पामा चट्याङबाट दुईको ज्यान गयो- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पामा चट्याङबाट दुईको ज्यान गयो

काशीराम डाँगी

रोल्पा — चट्याङमा परेर शुक्रबार रोल्पामा दुई जनाको मृत्यु भएको छ । पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहान सवा ११ बजे परेको चट्याङका कारण दुई महिलाको ज्यान गएको हो । 

प्रहरीका अनुसार चट्याङबाट गैरीगाउँस्थित जङ्डाँडाका २४ वर्षीया आशा बुढा र ७५ वर्षीया उनकी फूपू सासु खिर्मा बाँठामगरको ज्यान गएको हो । खिर्मा माइत आएकी थिइन् भने आशा घरमै थिइन् । घरमै रहेका आशाका पति सविन र काखे बालकलाई केही भएको छैन । घटनापछि सख्त घाइते दुवैलाई लिबाङस्थित रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल प्रमुख डा धनमाया घर्तीमगरले दुवैको मृत्यु अस्पताल ल्याइपुर्‍याउनु अघि नै भएको बताइन् ।

घटनालगत्तै उद्धारका लागि प्रहरी घटनास्थल पुगेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिनेबारे छलफल थालिएको बताए । मृतक दुवैको पोस्टमार्टम पनि रोल्पा अस्पतालमा गरिएको छ ।

एक महिनाअघि पनि पूर्वी रोल्पामा चट्याङकै कारण दुई पुरुष र केही जनावरको ज्यान गएको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

पीडितलाई पीडककै जिम्मा लगाउनेहरूलाई समेत कारबाही गर : मानव अधिकार आयोग

‘बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर’
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रूपन्देहीको देवदह नगरपालिका–११ की बलात्कृत १३ वर्षीया बालिकालाई पीडककै जिम्मा लगाउने व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी बालिकामाथि जेठ ९ र १० गते भएको बलात्कारको घटना र उनको शंकास्पद मृत्युप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषी सबैलाई कानुनी कारबाही गर्न निर्देशन दिएको हो । आयोगले बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्तिमा बलात्कारको घटनापश्चात दोषीलाई कानुनी कारबाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहबरमा आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाउनु झन् चिन्ताजनक भएको टिप्पणी गरेको छ ।

आयोगले आरोपीको जिम्मा लगाइएपछि अन्तरजातीय भन्दै बलात्कृत बालिकालाई घर भित्रिन नदिएपश्चात् भएको शंकास्पद मृत्युको सम्बन्धमा आफ्नो कार्यालयले समेत घटनास्थलमा पुगी छानबिन गरिरहेको जनाएको छ ।

‘बालिकालाई आरोपितको घर पठाउनेहरूउपर समेत निष्पक्ष अनुसन्धान गरी बलात्कार र शंकास्पद मृत्युको घटनामा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा छ ।

आयोगले समाजमा श्रृंखलाबद्ध रूपमा भइरहेका यस प्रकारका घटनाबाट बाल अधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने तथा छुवाछुत तथा भेदभावविरुद्धको संवैधानिक तथा कानुनी हक उल्लंघन भइरहेको जनाएको छ ।

आयोगले विज्ञप्तिमा मुलुकका विभिन्न भागमा विगत केही समययता श्रृङ्खलाबद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानुनी कारबाहीमा दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×