१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अंगिरा मृत्यु प्रकरणमा आरोपितको बयान सुरु

आरोपितलाई नै नाबालिका जिम्मा लगाउनेहरूसमेतलाई कारबाहीको दायरामा ल्याउन मानवअधिकार आयोगको आग्रह
सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको देवदहकी अंगिरा पासीको शंकास्पद मृत्यु प्रकरणमा आरोपितको म्याद थप गरी बयान लिने प्रक्रिया सुरु भएको छ ।

जबरजस्ती करणीपछि हत्या गरिएको भनी आमाले अंगिराकी आमाले किटानी जाहेरी दिएपछि वीरेन्द्र भर, उनकी आमा अकाली र ठूलीआमा शीतली पक्राउ परेका छन् । उनीहरूलाई शुक्रबार सरकारी वकिलको कार्यालय भैरहवामा बयानका लागि पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

किशोरीको हत्या र करणी भए/नभएको पुष्टि गर्न उनको भिसेरा र भजाइनल स्वाब परीक्षणका लागि शुक्रबारै काठमाडौं पठाइएको छ । रिपोर्ट कहिले आउँछ भन्ने यकिन नभए पनि छिटो पठाउन आग्रह गरिएको डीएसपी राठौरले बताए ।

यसैबीच जेठ १० गते भएको उक्त घटनालाई लिएर मानवअधिकार आयोगले शुक्रबार विज्ञप्ति जारी गरेको छ । आयोगको बुटवलस्थित कार्यालयका प्रतिनिधिले बिहीबार स्थलगत अनुगमन गरेका थिए । विज्ञप्तिमा अंगिराको मृत्यु शंकास्पद रहेको जनाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

स्थानीय प्रतिनिधिसमेतको रोहबरमा आरोपितलाई नै नाबालिका जिम्मा लगाएपछि जातीय विभेद देखाएर घरभित्र पस्न नदिनु र उनको मृत्यु भएको घटनाले बालअधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानजनक बाँच्न पाउने अधिकारसमेतको हनन भएको आयोगको निष्कर्ष छ । आयोगले बालिकालाई आरोपितका साथ घर पठाउनेहरूलाई समेत कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका सचिव वेद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जातीय विभेदका घटनामा शून्य सहनशीलता कायम गर्नसमेत माग गरिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?