३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना अस्पताल बेलझुण्डीबाट ८ जना संक्रमित निको भएर घर फर्किए

निको हुनेमा कपिलवस्तुका ४, बाँकेका ३ र दाङका १ जना
दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका ८ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन् । एक साता अस्पताल बसेपछि उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

कोरोना अस्पताल बेलझुण्डीबाट ८ जना संक्रमित निको भएर घर फर्किए

दुई पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि कपिलवस्तुका चार, बाँकेका तीन र दाङका एक जनालाई घर पठाइएको डा. शर्माले बताए । बिरामीहरुलाई अस्पतालमा फूल र खादा लगाएर बिदाई गरिएको थियो । उनीहरुलाई सम्बन्धित स्थानीय तहले एम्बुलेन्समार्फत घर फर्काएका थिए ।

बाँके नरैनापुर १ का १८, नरैनापुर ३ का २५ र नरैनापुर ५ का २० वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । यसैगरी कपिलवस्तु कृष्णनगर–२ का २९, कृष्णननगर ११ का २०, गान्धीनगर–३ का ४२ र शिवराज–११ का ३४ वर्षीय पुरुष पनि सञ्चो भएर घर गएका छन् । यस्तै गढवा–४ दाङका ३६ वर्षीय पुरुष पनि घर फर्किएका छन् ।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा स्वास्थ्यकर्मीहरुले राम्रोसँग हेरचाह गरेको र सञ्चो भएर घर फर्कन पाउँदा हौसला बढेको बिरामीहरुले बताए । अस्पतालमा ४५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेकोमा अब ३७ जना बाँकी रहेको अस्पतालका सदस्य सचिव डा. शर्माले बताए । अस्पतालमा प्रदेश ५ का ६ जिल्लाका १८ देखि ४५ वर्षका बिरामीहरु रहेको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?