कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पामा भारतबाट आएका साढे ६ सय क्‍वारेन्टाइनमा

स्थानीय तहले घर फर्कन अनुमति दिएपछि रोल्पामा भारतबाट आउने बढेका छन् । बिहीबारसम्म साढे ६ सय जना गाउँ फर्केका छन् ।
काशीराम डाँगी

रोल्पा — स्थानीय तहले घर फर्कन अनुमति दिएपछि रोल्पामा भारतबाट आउने बढेका छन् । बिहीबारसम्म रोल्पामा साढे ६ सय मानिस गाउँ फर्केका छन् । 

रोल्पामा भारतबाट आएका साढे ६ सय क्‍वारेन्टाइनमा

स्थानीय प्रशासनले भारतबाट आएकालाई क्वारेन्टाइनमा बसाल्न व्यवस्था मिलाइएको जनाएको छ । स्थानीय तहसँगको समन्वयमा सबै तहमा बनाइएका क्वारेन्टाइनमा भारतबाट आएकालाई अनिवार्य कम्तीमा दुई सातासम्म बसाल्न निर्देशन दिइएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उनले तीन दिनयता भारतबाट आएका ६ सय ४७ जनालाई क्वारेन्टाइनमा बसालिएको बताए ।

समितिका अनुसार भारतबाट हालसम्म सबैभन्दा बढी सुनिलस्मृति गाउँपालिकामा २ सय २५ जना आइपुगेका छन् । यस्तै त्रिवेणीमा १ सय ५३ र गंगादेवमा १ सय ४३ जना भारतबाट घर फर्केका छन् । रोल्पा नगरपालिकामा ५० जना र रुन्टीगढीमा ४२ जना आइपुगेका छन् । बिहीबारसम्म परिवर्तनमा १२, लुंग्रीमा ८, थबाङमा ७, सुनछहरीमा ५ र माडीमा २ जना भारतबाट भित्रिएका छन् ।

भारतबाट आएका ६ सय ४७ र काठमाडौंलगायत अन्य स्थानबाट आएका १ हजार ६ सय ८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बताए ।

रोल्पाका विभिन्न विद्यालय भवनमा बनाइएका क्वारेन्टाइनमा हाल २ हजार ९७ वटा बेड तय गरिएको छ । लकडाउनपछि हालसम्म ३३ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएकोमा ८ हजार १ सय ५५ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । हालसम्म बिरामी भएका २० जनालाई आइसोलेसनमा राखेर घर पठाइएको छ । यस्तै ३ सय ८० जनाको आरडीटी गरिएको छ । सबैको नतिजा नेगेटिभ छ । रोल्पा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र होलेरीमा गरी २० वटा आइसोलेसन कक्षा निर्माण गरिएको छ । भारतबाट आउनेको संख्या बढेपछि लिबाङस्थित जलजला बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन निर्माण गर्ने तयारी छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले रोल्पाबाट भारतमा कमाइ गर्न पुगेका करिब ३० हजार छन् । स्थानीय तहले संकलन गरेका तथ्यांकअनुसार सबै तहबाट मजदुरी गर्न भारत गएकामध्ये कम्तीमा १५ हजार फर्कन सक्ने अनुमानले योजना अघि सारिएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले भारतमा भएका ७ हजारले घर फर्कनेबारे सम्पर्क गरेको बताए । यसैगरी माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले राजधानी लगायतका इँटा उद्योगबाट फर्केका करिब १ हजारलाई घर फर्काइएको बताए । भारतबाट आएकालाई सुरक्षित पार्न र रोजगारी दिन ध्यान केन्द्रित भएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?