गाडेको शव प्रहरीले निकाल्यो

नवीन पौडेल

परासी — पश्चिम नवलरासीको सुस्ता गाउँपालिका ३ रेवामा  प्रहरीले गाडेको स्थानबाट एक किशोरीको शव निकालेको छ ।

हत्या भएको आशंकामा १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव प्रहरीले मंगलबार दिउँसो निकालेको हो । स्थानीयहरुले हत्या गरेर किशोरीलाई गाडेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए ।

घटनामा अनुसन्धान गर्न मृतकका बाबु लक्ष्मण,आमा, दाजु र शव गाड्न पुगेका अर्का छिमेकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको टाउकोमा चोट देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका डीएसपी वीरेन्द्र थापाले बताए । प्रहरीका अनुसार मृतक किशोरीको दाजु जीतेन्द्रसँग आइतबार झगडा भएको थियो । झगडा हुने दाजु फरार छन् ।

प्रहरीका अनुसार घरमा अकस्मात लडेकी किशोरीले वान्ता गर्न थालेकी थिइन् । त्यसक्रममा घर परिवारले विष सेवन गरेको भन्दै साबुन पानी खुवाउन लगाएर वान्ता गराउँदै स्वास्थ्य संस्थामा लैजान लागेका थिए ।

उनको बाटोमै मृत्यु भएपछि घर परिवारले नजिकै रहेको नारायणी नदी किनारमा आइतबार राति शव गाडेका थिए । मृतक किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?