१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बल्ल आइसोलेसन वार्डको तयारी, संक्रमित क्‍वारेन्टाइनमै

वैशाख २५ गते पहिलोपटक संक्रमित पहिचान भए पनि कपिलवस्तुका पालिकाले आइसोलेसन वार्ड बनाउने तदारुकता देखाएनन् । आइसोलेसन सेन्टर नहुँदा संक्रमितसँगै अरुमा त्रास बढिरहेको छ ।
मनोज पौडेल

कपिलवस्तु — महाराजगन्ज नगरपालिका–९ तेनुहवाका ८ संक्रमित आइसोलेसन सेन्टर नहुँदा ३ दिन क्‍वारेन्टाइनमै बसे । शनिबार दिउँसोमात्रै उनीहरुलाई मायादेवी गाउँपालिकाको आइसोलेसन सेन्टरमा लगियो । तर त्यहाँ लिन नमानेपछि पुन: क्‍वारेन्टाइन रहेकै जानकी माविको छुट्टै कोठामा ल्याएर राखिएको छ ।

‘कुनै पूर्वाधार छैन,’ महाराजगन्ज नगरपालिका स्वास्थ्य शाखा प्रमुख राधेश्याम चौधरीले भने, ‘समयमा आइसोलेसन सेन्टर नबनाउँदा समस्या परेको छ ।’ नगर क्षेत्रमा व्यवस्थित पूर्वाधार भएका भवनको अभाव छ । स्वास्थ्यका आधारभूत साधनस्रोत र मेडिकल अफिसर पनि छैनन् । 'त्यही भएर यसलाई आइसोलेसन सेन्टरभन्दा पनि पोजिटिभ संक्रमित राख्ने क्‍वारेन्टाइन हो भन्दा हुन्छ,' उनले भने, 'विद्यालय कोठाको पूर्वाधारभन्दा बढी केही सुविधा दिन सकेका छैनौं ।'

शनिबारसम्म संक्रमितको संख्या ७७ पुगेको छ । थोरै भए पनि उपचारको वातावरण दिने आइसोलेसन सेन्टर नहुँदा संक्रमितमा भय र त्रास बढिरहेको छ । जिल्लाका १० पालिकाले समयमै आइसोलेसन सेन्टर नबनाउँदा अहिले समस्या भइरहेको हो । गत वैशाख २५ गते जिल्लामा पहिलोपटक संक्रमित पहिचान भएको भए पनि स्थानीय तहले तदारुकता नदेखाउँदा समस्या देखिएको सरोकारवाला बताउँछन् ।

प्रदेश सरकारले जिल्लाका लागि कोरोना नियन्त्रण फोकल पर्सनका रुपमा आन्तरिक प्रशासन तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई खटाएको छ । उनकै अध्यक्षतामा तौलिहवामा जेठ ३ गते बैठक बसेर ४ पालिकामा २ सय ५० बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय भयो । तर कार्यान्वयन भएन । अन्य पालिकाले पनि आन्तरिक तयारी गरेका थिएनन् । संक्रमितको संख्या एक्कासि बढ्दै गएपछि स्थानीय तहलाई छटपटी भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने वाणगंगा नगरपालिकाले पनि आइसोलेसन कक्ष बनाउन नसक्दा क्‍वारेन्टाइन राखिएकै सिद्धार्थ क्याम्पस बुङचीको अर्को ब्लकमा संक्रमितलाई राखेको छ । ‘त्यहाँ ८ संक्रमित छन्,’ नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले भने, ‘नगरपालिकाले उद्योग वाणिज्य संघको भवनमा आइसोलेसन सेन्टर बनाउन कुराकानी भइरहेको पनि निश्चित भएको छैन ।'

बुद्धभूमि नगरपालिकाले आइसोलेसन सेन्टर बनाउन शनिबार सर्वदलीय बैठक राखेको छ । ‘शनिबार थपिएका २ संक्रमित घरमै छन्,’ सिनियर हेल्थ असिस्टेन्ट गोकर्ण अर्यालले भने, ‘उनीहरुलाई हेरचाह गरिरहेका छौं ।’ सिमेन्ट उद्योगको कोठालाई आइसोलेसन सेन्टर बनाउन कुराकानी भइरहेको उनले बताए ।

मायादेवी गाउँपालिकाले पकडीमा घर भाडामा लिएर आइसोलेसन सेन्टर बनाइरहेको छ । त्यस्तै, क्रिकेटर फैजल खानले आफूले सञ्चालन गर्न लागेको तैवा अस्पताललाई आइसोलेन सेन्टर बनाउन दिएका छन् ।

आइसोलेसन सेन्टरको अभावमा खैराटी र सानो गौराका १२ संक्रमित दुई वटा क्‍वारेन्टाइनमा बसेका छन् । वार्ड तयार भएपछि आइतबारसम्म उनीहरुलाई ल्याइने अध्यक्ष बगरंगी चौधरीले बताए ।

सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिकाले १५ किमि पर रेहरा स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाउँदै छ । सदरमुकाममा आइसोलेसन सेन्टर नहुँदा संक्रमित दुई सञ्चारकर्मी एक गैससको भवनमा बसेका छन् ।

शिवराज नगरपालिकाले खरेन्द्रपुरमा सञ्चालन क्रममा रहेको सुपादेउराली रिसोर्टका २० भन्दा बढी कोठा एक महिनाका लागि बाहलमा लिएको छ । ‘कोठामा शौचालयका प्यान र वायरिङका काम भइरहेका छन्,’ स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले भने, ‘दुई दिनमा सम्पन्न हुन्छ ।’

आइसोलेसन सेन्टर नहुँदा शुद्धोदन गाउँपालिकाका एक संक्रमित क्‍वारेन्टाइनमै बसिरहेका छन् । लबनीस्थित निजी अलशेख अस्पताललाई आइसोलेसन सेन्टर बनाउन सरसफाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए । कृष्णनगर नगरपालिकाले पनि मदरसामा सय बेडको आइसोलेसन सेन्टर बनाउने तयारी गरेको नगरप्रमुख रजतप्रताप शाहले बताए ।

स्वास्थ्य संयोजकलाई निषेध

विजयनगर गाउँपालिकाको आइसोलेसन सेन्टरमा स्वास्थ्य संयोजक यज्ञ अधिकारीलाई वार्ड अध्यक्ष दिनेश चौधरीले प्रवेश निषेध गरेको सूचना टाँस गरेका छन् । सेन्टरमा राखिएका संक्रमितको हेरचाह र स्याहार सुसारमा नआई हेलचेक्रयाइँ गरेकाले बाध्य भएर त्यस्तो सूचना टाँस्नुपरेको उनले बताए ।

‘हामी अप्राविधक मान्छे हौं,‘ उनले भने, ‘यहाँ ३ संक्रमित राखिएका छन् । उनीहरुलाई के खुवाउने र कसरी उत्साह थप्ने हामीलाई ज्ञान छैन । स्वास्थ्य शाखा संयोजकलाई फोन गर्दागर्दा थाक्यौं, उनी आएनन् ।' यहाँ संक्रमितलाई खाना दिन लैजाने कोही तयार छैनन् । स्वास्थ्यकर्मीको अत्तोपत्तो छैन । चौधरी आफै जोखिम मोलेर खाना पुर्‍याइरहेका छन् ।

अधिकारीले भने व्यस्तताका कारण आउन नसकेको बताए । त्यहाँ गणेशपुरस्थित नवनिर्मित आयुर्वेद अस्पताल भवनमा सेन्टर बनाइएको छ । सबै स्थानीय तहलाई आइसोलेसन सेन्टर बनाउन निर्देशन गरेको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?