कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश ५ को नीति तथा कार्यक्रममा 'कोभिड–१९ विशेष'

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार प्रदेश ५ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रम ‘कोभिड–१९ विशेष’ छ ।

प्रदेश ५ को नीति तथा कार्यक्रममा 'कोभिड–१९ विशेष'

कोरोनाबाट उथलपुथल भएको अर्थतन्त्रको पुनरुत्थान गर्ने नीति सरकारले अवलम्बन गरेको छ । त्यसका लागि धेरै बजेट र नीति कृषि क्षेत्रका लागि तयार गर्ने सरकारको तयारी छ । कोरोनाका कारण रोजगारी गुमाएका र विदेशबाट फर्किएका युवाका लागि कृषि लक्षित कार्यक्रम ल्याउने सरकारको नीति छ ।

एक स्थानीय तह एक बिउ बैंक स्थापना हुनेछ । कृषि पर्यटन, ग्रामिण पर्यटन, पर्यापर्यटन पनि सरकारको प्राथमिकतामा छन् । आन्तरिक आयमा टेवा पुर्‍याउने उद्योग, विकास आयोजना पनि निरन्तर हुनेछन् । सिद्धार्थ राजमार्ग अर्न्ततको सिद्धबाबा सडक खण्डको बैकल्पिक मार्गका रुपमा प्रदेश सरकारले निर्माण गरिरहेको चरङ्गे झुम्सा सडकमा आगामी वर्ष यातायात चल्ने गरी स्तरोन्नती गर्ने सरकारले उल्लेख गरेको छ ।

नीति कार्यक्रम प्रस्तुत गर्दै यादवले प्रदेश ५ को नामकरण र राजधानी भने कोभिड–१९ नियन्त्रणपछि मात्र टुंगो लाग्ने बताए । सरकारले चालू वर्षमै नाम र राजधानी टुंगो लगाउने तयार गरेपनि कोरोना महामारीले प्रभावित भएको छ । राजधानीको टुंगो लागेपछि त्यससँग सम्बन्धित गुरुयोजना र संरचना निर्माणका काम सुरु हुने उनले बताए ।

नाम र राजधानीको टुंगो नलागेपनि सरकारले प्रदेशको मौलिकता झल्कने गरी प्रदेश सभाको भवन निर्माण गर्ने नीति कार्यक्रममा उल्लेख छ । त्यस्तै चालु वर्ष खर्च हुन नसकेको बजेटलाई कोरोना कृषि विशेष कार्यक्रम संचालन गरेर खर्च व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

सरकारले आगामी वर्षमा नयाँ र ठूला आयोजना थप नगर्ने भएको छ । तर, पुराना योजनालाई बजेट निरन्तरता दिने जनाएको छ । चालू वर्षदेखि नै निरन्तर रहेका स्थानीय तह जोड्ने सबै पहुँच मार्गलाई बहुवर्षे योजनामा रुपान्तरण गरेको छ । प्रदेश भरका सबै नागरिकलाई तीन वर्ष भित्र बिजुलीको सहज पुहँचमा पुर्‍याएर उज्यालो प्रदेश बनाउने नीति कार्यक्रममा उल्लेख छ ।

बिजुलीका काठका पोल हटाउने कार्यलाई अभियानका रुपमा संचालन गरिने छ । सरकारले चालु आवमा ५५ पुल निर्माण गरी आगामी वर्ष थप ४० यातायातका पक्की पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै सरकारले प्रदेशका ६ स्थानलाई शिर्ष बिन्दु घोषणा गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने भएको छ । रोल्पाको होलेरी, प्यूठानको स्वर्गद्धारी, अर्घाखाँचीको नरपानी, गुल्मीको रेसुंगा र पाल्पाको श्रीनगरलाई हिलस्टेशनका रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम माथि आइतबार बस्ने प्रदेश सभाको बैठकमा छलफल सुरु हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?