१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टुक्रिएको जिल्लाको नामाकरण गर्न माग 

नवीन पौडेल

परासी — पश्चिम र पूर्वी नवलपरासीका स्थानीयले संविधान संशोधन गरेर जिल्लाको नामाकरण गर्न माग गरेका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सहितको निसान छाप परिवर्तन गर्न संविधान संशोधन गर्दै छ ।

यसका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । निसान छाप परिवर्तन गर्दा जिल्लाको नामाकरण पनि संगै गर्न जिल्लाबासीले माग गरेका हुन् ।

संघियता कार्यान्वयनसंगै साविकको नवलपरासी जिल्ला दुई जिल्लामा विभाजित भएको छ । बर्दघाट सुस्ता पूर्व गण्डकी प्रदेशमा पर्दछ भने बर्दघाट सुस्ता पश्चिम पाँच नम्बर प्रदेशमा पर्दछ ।

पूर्वी नवलपरासीलाई नवलपुर क्षेत्र भनेर चिनिन्छ भने पश्चिम क्षेत्रलाई परासी खण्ड भनिन्छ । तर सरकारी कामकाजका लागि बर्दघाट सुस्ता पूर्व र पश्चिम लेख्नुपर्दा झन्झटीलो र जिल्लाको नाम नै नभएको अनुभ‍ूति दुवै जिल्लावासीले गरेका छन् ।

जिल्लाका प्रदेश सांसद र संघिय सासदले पूर्वी नवलपरासीको नाम नवलपुर राख्‍न केन्द्र सरकारलाई लिखित सुझाव दिएका छन् भने पश्चिम नवलरासीलाई साविकको नवलपरासी नै राख्नुपर्ने सुझाव छ ।

नाम राख्ने विषयमा नवलपरासीमा कुनै पनि विवाद नभएकाले निसान छाप परिवर्तनका लागि संविधान संशोधन गर्दा टुक्रिएको जिल्लाको पनि नामाकरण गर्नुपर्ने पश्चिम नवलपरासी सुनवलका सुनिल लामिछानेले बताए । लामिछाने जस्तै जिल्लावासीले सामाजिक सञ्‍जाल मार्फत् संविधान संसोधन गर्दा नामाकरण गर्नुपर्ने माग गरेका छन् । सरकारले जारी गरेको पछिल्लो नक्सामा पूर्वी नवलपरासी खण्डलाई नवलपुर नामाकरण गरेर जारी गरेको भएपनि कुनै पनि जिल्लाको नाम फेर्नका लागि संविधान संशोधन हुनुपर्ने प्रावधान रहेको छ ।

जिल्लाको नामाकरणका लागि प्रधानमन्त्री समक्ष जानकारी र आग्रह गरिएको पूर्वी नवलरासीका संघीय सांसद तिलक महतले बताए । ‘हामीले पूर्वी नवलपरासी जिल्लाको नाम नवलपुर राख्नेमा कुनै पनि विवाद छैन् । प्रधानमन्त्री ज्यू समक्ष हामीले यही मौकामा जिल्लाको नामाकरण गरौ भनेका छौ,’महतले भने,‘तर रुकुम पूर्व र पश्चिमको विवाद अदालतमा विचाराधीन भएकाले एकै पटक टुक्रिएका जिल्लाको नामाकरण गर्ने सोचमा हुनुहुन्छ । केही समयमा नै नामाकरण हुनेछ ।’

२०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम भएको थियो । त्यसअघि रुपन्देही जिल्लाको पाल्ही माझखण्डको रुपमा चिनिन्थ्यो । २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई बर्दघाट सुस्ता पुर्व र बर्दघाट सुस्ता पश्चिममा विभाजन गरेको हो ।

प्रकाशित : जेष्ठ १०, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?