कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सीमामा भीड : स्थानीय तहद्वारा नाकाबाटै उद्धार

भैरहवा, दाङ — भारतबाट स्वदेश फर्केका नेपालीलाई सम्बन्धित जिल्ला वा स्थानीय तहले सीमा नाकाबाटै उद्धार गर्न सक्ने व्यवस्था रूपन्देही जिल्ला प्रशासनले मिलाएको छ । सम्बन्धित गाउँ/नगरपालिकाले रूपन्देही प्रशासनसँग समन्वय गरेर आफ्ना बासिन्दालाई लैजाने व्यवस्था मिलाएको हो । सुनौली नाकामा स्वदेश आउनेको चाप दिनहुँ बढ्न थालेपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो । 

सीमामा भीड : स्थानीय तहद्वारा नाकाबाटै उद्धार

भारतमा रेल सञ्चालन गरिएपछि सुनौली नाकाबाट स्वदेश आउन खोज्ने नेपाली यात्रुको चाप बढ्न थालेको छ । यसअघि सीमाबाट नेपाल आउनका लागि भारतको क्वारेन्टाइनमा न्यूनतम दुई साता अनिवार्य बस्नु पर्ने प्रावधान थियो ।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत तथा सूचना अधिकृत जनक थापाले सीमामा आइपुगेका आफ्ना जिल्लावासी वा पालिकावासीलाई लिन आएमा समन्वय गरेर लैजान पाउने व्यवस्था गरिएको बताए । यसका लागि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने गरी लैजान पाइने व्यवस्था रहेको उनले जनाए । ‘सीमामा लिन नआउने नेपालीको हकमा नेपाल भित्र्याएपछि सम्बन्धित जिल्ला वा पालिकामा जाने व्यवस्था नहुन्जेल रूपन्देहीमा रहेका क्वारेन्टाइनमा केही दिन रोकेर राख्ने गरेका छौं,’ थापाले भने, ‘रूपन्देहीमा रहेका क्वारेन्टाइनमा राख्न सकिने क्षमता कति छ, त्यसका आधारमा सीमाबाट स्वदेश ल्याइने छ । अन्यथा भारतको नौतनावास्थित क्वारेन्टाइनमा राख्न लगाइनेछ ।’

भारतबाट स्वदेश फर्कने नेपालीको भीड सुनौली नाकामा लाग्न थालेपछि पाल्पा जिल्ला र अर्घाखाँचीको मालारानी गाउँपालिकाले सीमाबाटै सीधै बसबाट आफ्ना जिल्लावासी र पालिकाकाबासीलाई लैजान थालेका छन् । शुक्रबार मालारानी गाउँपालिकाले ३ सय २८ जना आफ्नो जिल्ला र पालिकाका बासिन्दालाई सीमाबाटै बसबाट लगेको हो । पाल्पा जिल्ला प्रशासनले पनि सीमामा जम्मा भएका ६० जना जिल्लावासीलाई दुईवटा बस पठाएर जिल्ला लगेको थियो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सीमाबाट लगेका नेपालीलाई सम्बन्धित जिल्ला प्रशासन वा पालिकाले आफ्नो जिल्लामा वा पालिकामा पुर्‍याएपछि क्वारेन्टाइनमा बस्ने गरी व्यवस्थापन गर्ने बताए ।

उनका अनुसार भारतको नौतनावास्थित क्वारेन्टाइनमा बसेका १ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइयो । भारततर्फ जानका लागि सीमा क्षेत्रमा जम्मा भएका र भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका ४ सय १७ जना भारतीय नागरिक बिहीबार भारततर्फ लागेका छन् ।

मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले भारतबाट आएका नेपालीलाई सीमाबाट लैजाँदा स्वास्थ्य सावधानी अपनाएर लगिएको बताए । ‘सीमाबाट नेपाली ओसार्न प्रयोग गरिएका बस यात्रु ओरालेपछि किटनाशक औषधि र सेनेटाइजर छर्किएर तीन/चार घण्टाससम्म सुकाउने गरेका छौं,’ आचार्यले भने, ‘चालकलाई पनि मास्क, ग्लोब र पीपीईको व्यवस्था गरेका छौं ।’ त्यस्तै बर्दियासँग जोडिएको भारतको बहराईचस्थित मटेरा, नानपारा र मिहीपुरुवाबाट २ सय ५० जना स्वदेश आएका छन् ।

बिहीबार ल्याइएका उनीहरूलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ । भारतका विभिन्न राज्यबाट आएका उनीहरू केही दिन सीमावर्ती क्वारेन्टाइनमा बिताएर मुलुक आएका हुन् । बहराइचस्थित विभिन्न क्वारेन्टाइनमा शुक्रबारसम्म एक हजारभन्दा बढी नेपाली छन् । मटेरास्थित क्वारेन्टाइनमा एक साता बसेका नेपालीलाई रूपैडिहा र मुर्तिहा नाका हुँदै ल्याइएको हो । मटेरास्थित क्वारेन्टाइनमा खटिएका डा. कपिल भरले साताअघि आएका सबै नेपाल फर्किसकेको बताए । मटेरा क्वारेन्टाइनमा खाने र बस्ने सुविधा नपाएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । उनीहरूको घर ठेगानाअनुसार विभिन्न पालिकाका क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । भारतबाट आएका सबैको पीसीआर गरिंदै आएको उनले बताए ।

मजदुर पठाउन सुरु

घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भारतीय इँटा मजदुरलाई घर फर्काउन सुरु भएको छ । लकडाउन भएदेखि कामविहीन भएर इँटा उद्योगमा बसिरहेका मजदुरहरूले घर जान पाउनुपर्ने माग गर्दै मंगलबार घोराहीमा प्रदर्शन गरेका थिए । पटकपटक अनुरोध गर्दा पनि घर जान नपाएपछि उनीहरू आन्दोलित भएका हुन् । भारत प्रवेश पाउने भएपछि उनीहरूलाई बाँकेको जमुनाहा नाकासम्म पठाउने गरेको इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीले बताए । जिल्लामा रहेका २६ इँटा उद्योगमा ६ हजार ५ सय भारतीय मजदुर रहेकामा सबैलाई बिस्तारै पठाउने काम भइरहेको उनले जानकारी दिए । सीमा क्षेत्रबाट भारतीय पक्षले जान नदिएका कारण उनीहरूलाई पठाउन समय लागेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

दाङको घोराही १० नारायणपुरमा कार्यरत भारतीय इँटा मजदुर घर फर्कने तयारीमा । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

कतिपय अझै पनि बाटोमा अलपत्र परिरहेकाले कठिनाइ भएको उनले बताए । केही मजदुर भारत जान नपाएर दाङका नाका क्षेत्रमा अलपत्र परिरहेको उनले बताए । उनीहरूलाई पठाउन पहल भइरहेको रिजालले जानकारी दिए । यसअघि उद्योगहरूले मजदुरलाई पठाउन खोजे पनि विभिन्न ठाउँबाट दाङमै फर्काइएका थिए । धेरैपटक प्रयास गर्दा पनि घर जान नपाएपछि मजदुरहरू आन्दोलनमा उत्रिएका थिए । उक्त आन्दोलनपछि अहिले घर फर्काउन सहज भएको इँटा व्यवसायीले बताएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?