कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आफ्‍नाले छाडेपछि सडकमा

दुर्गालाल केसी

दाङ — पाखुरामा तागत हुँदासम्म उनले मजदुरी गरेर जीविका चलाए । त्यसपछि रिक्सा चलाएर पनि परिवार पाले । उमेर बित्दै गएपछि शरीरको जोश जाँगर मर्दै गयो । काम गरी खाने जोश सकिएपछि आफ्नो भन्ने केही भएन ।

आफ्‍नाले छाडेपछि सडकमा

घोराही उपमहानगरपालिका–१४ बसपार्क नजिक सरकारी खाली जग्गामा उनी झुप्रो बनाएर बसेका थिए । छोरी विवाह गरेर गइन् । छोरा पनि कता गए, सम्पर्कमै आएनन् । श्रीमतीको पनि गत वर्ष निधन भयो । त्यसपछि उनी एक्ला भए । भएको सानो झुप्रोमा साथ दिने कोही नभएपछि उनी मागी खान थाले । माग्दै खाँदै गर्दा पनि शरीर कमजोर भयो । कमजोर भएका कारण उनलाई बजारभरि घुमेर मागिसकेपछि बास बस्ने ठाउँसम्म पुग्न कठिन हुन थाल्यो ।

लकडाउन भएपछि उनलाई मागेर खान पनि समस्या भयो । खानेकुरा खोज्दै हिँड्ने क्रममा उनी केही दिनअघि सडकमा लडेर घाइते भए । त्यसपछि उनी हिँड्न पनि नसक्ने भए । शुक्रबारदेखि उनी घोराही उपमहानगरपालिका–१५ भृकृटीनगर टोलमा सडकमा अलपत्र परेका छन् । अशक्त अवस्थामा भएकाले उठ्न सकिरहेका छैनन् । राम्रोसँग बोल्न पनि सक्दैनन् । स्थानीयले दिएका खानेकुरा पनि खान सकेका छैनन् ।

अन्दाजी ७० वर्षीय उनले नाम पवलसिं विक रहेको बताएका छन् । घोराही उपमहानगरलाई सडक मानवमुक्त घोषणा गरिएकाले यस्ता अलपत्र मानिसको उद्धार गर्न स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई पटकपटक खबर गर्दा पनि कुनै वास्ता नगरिएको स्थानीय युवा विवेक न्यौपानेले बताए । ‘सबै जनप्रतिनिधि र प्रहरी आउने, हेर्ने र जाने गरेका छन् । उद्धारको पहल गर्छौं भनेको दुई दिन भइसक्यो । ती वृद्ध अहिले पनि त्यही अवस्थामा सडकमै छन्,’ उनले भने, ‘खानेकुरा दिँदा पनि खान सकेका छैनन् । अशक्त भएकाले उठ्न, हिँड्न सकेका छैनन् । हामी सबैलाई अनुरोध गर्दा गर्दा थाकिसक्यौं । कसैले केही गर्दैन ।’

कोरोना संक्रमणको जोखिम भएका कारण पनि कसैले बास दिने स्थिति छैन । सबैले स्थानीय सरकार र प्रहरीलाई उद्धारका लागि गुहार मागिरहेका छन् । घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी र १५ का अध्यक्ष रमेशकुमार पाण्डेका साथै प्रहरी आएर हेर्ने र फर्कने मात्रै गरेको न्यौपानेले बताए । उनीहरुले उद्धारको पहल गर्छौं भने पनि अहिलेसम्म केही नभएको उनले बताए ।

अलपत्र वृद्धबारे बुझेर वडा कार्यालयमार्फत उद्धारको व्यवस्था गरिने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । ‘ती वृद्धको अवस्थाबारे बुझेर उद्धारका लागि पहल गर्छौं,’ उनले भने, ‘कताबाट आएका हुन् । कुन अवस्थामा छन् । कोरोना परीक्षण गर्नुपर्ने पनि हुनसक्छ । हामी सबै बुझेर त्यहीअनुसार काम गर्छौं ।’ घोराही उपमहानगरले यसअघि सडकमा भएका सबै मानिसहरुको उद्धार गरी राप्ती गाउँपालिकाको सुनडबरीस्थित मानव सेवा आश्रममा राखेको थियो । सडकमा कोही मानिसहरु नभएको भन्दै गत फागुन १६ मा ‘सडक मानवमुक्त नगर’ घोषणा गरिएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?