कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै रूपन्देहीमा प्रदर्शन

क्वारेन्टाइनमा बसेकाले सडकमा खाना फाल्ने र कर्मचारीले पनि क्वारेन्टाइनका खाना घर लैजाँदा जोखिम बढेको स्थानीयको आरोप 
सन्जु पौडेल

तिलोत्तमा (रूपन्देही) — रूपन्देहीको कोटहीमाई गाउँपालिका–६ स्थित बोगडी माविमा राखिएको क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । क्वारेन्टाइनमा खटिएका कर्मचारीले लापरबाही गर्दा संक्रमणको जोखिम बढेको उनीहरूको आरोप छ ।

क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै रूपन्देहीमा प्रदर्शन

चार सयभन्दा बढी व्यक्तिले गाउँपालिका अध्यक्षविरुद्ध नाराबाजी गर्दै विरोध जुलुस निकालेका हुन् । उक्त क्वारेन्टाइन पाँचदिन अघि बनाइएको हो । क्वारेन्टाइनमा बसेकाले खेर गएको खाना प्लास्टिकको झोलामा राखेर सडकमा फ्याँक्ने गरेको र कर्मचारीले बचेको खाना–खाजा घर लैजाँदा जोखिम बढेको स्थानीयको भनाइ छ ।

यसबारे गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवलाई जानकारी गराए पनि सुनुवाइ नभएको निशान्त पाण्डेले बताए । ‘क्वारेन्टाइन निर्माण भएदेखि लापरबाही हुन थालेको हो,’ उनले भने, ‘धेरैपटक कर्मचारी र गाउँपालिकालाई आग्रह गर्दा पनि नसुनेजस्तो गरेपछि गाउँले सबै विरोधमा उत्रिएका हौं ।’ क्वारेन्टाइनबाट सडकमा फ्याँकिएको खाना खाएर पशुपचौपाया घरघरमा जाने भएकाले तिनैबाट कोरोना संक्रमणको जोखिम भएको पाण्डेले बताए ।

कर्मचारीहरू पनि गाउँमा हिँडडुल गर्दा त्रास बढेको भन्दै स्थानीयले उनीहरूलाई क्वारेन्टाइनमै बस्न आग्रह गरेका छन् । क्वारेन्टाइनमा बसेका मानिस साँझ परेपछि गाउँ घुम्ने, कर्मचारीले त्यहाँ पकाएको खाना घरमा लिएर जाँदा त्रास फैलिएको अर्का स्थानीय सन्दीप त्रिपाठीले बताए । ‘यसबारे अध्यक्षलाई जानकारी गराउन घरमै पुगियो, तर उहाँ नसुनेझैं गरी गाडी चढेर हिँड्नुभयो,’ उनले भने, ‘विरोध गरेपछि अहिले प्रहरी परिचालन गरी मुख्य चोकमा गाडीमा बसेर हेर्ने काम गर्नुभएको छ ।’

क्वारेन्टाइनस्थलबाट निम्तिएको जोखिमबारे मझगाँवा प्रहरीमा निवेदन दिएकोमा त्यहाँबाट पनि सहयोग नपाएको स्थानीयको गुनासो छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?