भारतीय इँटा मजदुरलाई घर फर्काउन सुरु
दाङ — घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भारतीय इँटा मजदुरलाई घर फर्काउन सुरु भएको छ । लकडाउन भएदेखि कामविहीन भएर इँटा उद्योगमा बसिरहेका मजदुरहरुले घर जान पाउनुपर्ने माग गर्दै मंगलबार घोराहीमा प्रदर्शन गरेका थिए ।
पटकपटक अनुरोध गर्दा पनि घर जान नपाएपछि उनीहरु आन्दोलित भएका थिए । भारत प्रवेश पाउने भएपछि उनीहरुलाई बाँकेको जमुनाहा नाकासम्म पठाउने गरेको इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीले बताए । जिल्लामा रहेका २६ इँटा उद्योगमा ६ हजार ५ सय भारतीय मजदुर रहेकोमा सबैलाई विस्तारै पठाउने काम भइरहेको उनले जानकारी दिए ।
सीमा क्षेत्रबाट भारतीय पक्षले जान नदिएका कारण उनीहरुलाई पठाउन समय लागेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । कतिपय अझै पनि बाटोमा अलपत्र परिरहेकाले कठिनाई भएको उनले बताए । केही मजदुर भारत जान नपाएर दाङका नाका क्षेत्रमा अलपत्र परिरहेको उनले बताए । उनीहरुलाई पठाउन पहल भइरहेको रिजालले जानकारी दिए ।
यसअघि उद्योगहरुले मजदुरहरुलाई पठाउन खोजे पनि विभिन्न ठाउँबाट दाङमै फर्काइएका थिए । धेरैपटक प्रयास गर्दा पनि घर जान नपाएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका थिए । उक्त आन्दोलनपछि अहिले घर फर्काउन सहज भएको इँटा व्यवसायीले बताएका छन् ।
प्रकाशित : जेष्ठ ९, २०७७ १५:००