क्वारेन्टाइन राख्न खोज्दा घोराहीमा स्थानीयको विरोध

दुर्गालाल केसी

दाङ — कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा घोराही उपमहानगरपालिका–१४ मा स्थानीयले विरोध गरेका छन् । कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात मावि लगायतका ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा सबैतिर विरोध भएपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेको छैन ।

क्वारेन्टाइन राख्न खोज्दा घोराहीमा स्थानीयको विरोध

घना बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै विरोधमा स्थानीय लाठी बोकेर सडकमा निस्कने गरेका छन् । उनीहरुले घना बस्ती नभएको ठाउँमा राख्न माग गरेका छन् । घोराही–१४ मुख्य बजार क्षेत्रमा पर्छ ।

बजारको बीचमा भयो भनेर केही व्यक्तिहरुले विरोध गरिरहेको घोराही १४ का अध्यक्ष एवं घोराही उपमहानगर विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले बताए । ‘गाउँतिर लगेर बनाउनुपर्‍यो भन्छन् । सबै वडामा क्वारेण्टाइन छन् । अरु ठाउँ लैजान कहाँ सम्भव हुन्छ ?,’ उनले भने,‘यहाँ सबैतिर बजार नै छ । आफ्नो वडाका मानिसहरुलाई राख्न भएका स्कुल, सार्वजनिक स्थल प्रयोग गर्न खोजेको हो । त्यसमा पनि विरोध हुन्छ ।’

केही रोजगारको सिलसिलामा बाहिरबाट आएका र केही रातदिन काम गर्ने जनप्रतिनिधि र कर्मचारीका लागि क्वारेन्टाइन बनाउन खोजिएको डाँगीले बताए । ‘अहिले यस वडाका मानिसहरु नभएका कारण पनि त्यती गाह्रो भएको छैन,’ उनले भने, ‘भोलि धेरै मानिसहरु संक्रमित हुन थाले भने सबै स्कुल र सार्वजनिक भवनहरु प्रयोग गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला विरोध गरेर हुनेवाला छैन ।’

अहिले दिनहुँ भारतबाट ठूलो संख्यामा मानिसहरु आइरहेका छन् । भारतबाट आएकालाई आआफ्नो वडामा लगेर क्वारेण्टाइनमा राखिएको छ । बिहिबार मात्रै भारतबाट ३ सय ५० जना मानिसहरु आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले क्वारेण्टाइनमा ५ सय ७९ जना छन् । जिल्लामा ५७ वटा क्वारेण्टाइन छन् जसमा २ हजार शय्याको क्षमता छ ।

सबै वडाले स्कुल र सार्वजनिक भवनमा क्वारेन्टाइनको व्यवस्था गरेका छन् । बिहीबार मात्रै घोराही–३ कुइरेपानीमा रहेको क्वारेन्टाइनमा बसेका स्थानीय एक ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी जेठ ३ गते कृष्णनगर नाका हुँदै भारतबाट आएका थिए ।

भारतबाट फर्कनेहरु दिनदिनै आइरहेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका १० वटै पालिकामा कम्तिमा दुई सय शय्याका क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । जिल्लामा ८ हजार बढी मानिसहरु भारतबाट भित्रिने अनुमान रहेको र सोही अनुसार सबै पालिकामा स्कुल र सार्वजनिक भवनलाई क्वारेन्टाइन बनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । सबैलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्नुपर्ने भएकाले सबै पालिकामा क्वारेन्टाइन आवश्यक परेको उनले बताए ।

क्वारेन्टाइन र आइसोलेसन स्थापनाका क्रममा स्थानीयबाट विरोध हुन थालेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सामाजिक सञ्जालमार्फत सबैलाई यस्तो नगर्न अनुरोध गरेका छन् । ‘अहिले जुन ठाउँका बासिन्दाले आफ्नो ठाउँमा आइसोलेसन र क्वारेन्टाइन राख्नु हुँदैन भनेर विरोध गरिरहनुभएको छ त्यही ठाउँमा संक्रमण देखिएको अवस्थामा त चाहिएला नै,’ उनले भनेका छन्,‘त्यसैले आइसोलेसन र क्वारेन्टाइन आफ्नो नजिकमा सकेसम्म सुरक्षित र व्यवस्थित बनाउन सहयोग गरौं । पछि आफैलाई पनि काम लाग्न सक्छ ।’

प्रकाशित : जेष्ठ ९, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?