तीन स्थानीय तहद्वारा भीटीएम किनेर स्वाब संकलन 

मनोज पौडेल

कपिलवस्तु — क्वारेन्टाइनमा रहेका व्यक्तिले कोरोना परीक्षणका लागि दबाब दिन थालेपछि कपिलवस्तुका स्थानीय तहले स्वाब संकलनका लागि भीटीएम खरिद गर्न थालेका छन् । कपिलवस्तुस्थित जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट समितिले दुई साताअघि प्रदेश र संघीय सरकारसित कोरोना परीक्षणका लागि १० हजार थान भीटीएम माग गरेको थियो । सम्बन्धित निकायमा बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ नभएपछि आफै भीटीएम खरिद गर्ने निर्णय गरेका हुन् । 

तीन स्थानीय तहद्वारा भीटीएम किनेर स्वाब संकलन 

तीनपटक गरेर जिल्लामा अहिलेसम्म १ हजार ५ सय थान भीटीएम आएको छ । १ हजार ५ सय आरडीटी किट आइपुगेको छ । दिनदिनै क्वारेन्टाइनमा मानिस बढिरहेका छन् । संक्रमित पुष्टि भएका व्यक्ति बसेको क्वारेन्टाइनमा रहेका व्यक्तिकोसमेत अहिलेसम्म परीक्षण भएको छैन । सर्वसाधारणले स्वास्थ्यकर्मीलाई गालीगलौज गरिरहेका छन् ।

क्वारेन्टाइन छाडेर मानिसहरू भाग्न थालेपछि स्थितिलाई तनावग्रस्त बन्न नदिन स्थानीय तहले आफैले भीटीएम खरिद गर्न थालेको बताएका छन् । कपिलवस्तु नगरपालिकाले बुधबार एक हजार थान भीटीएम खरिद गरेको छ । बुटवलबाट खरिद गरेर ल्याएपछि बुधबारबाटै स्वाब संकलन गर्न थालिसकेको छ । ‘चार दिनसम्म क्वारेन्टाइन नजिक पर्न सकिनँ,’ कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले भने, ‘आज गएको सुरुमा आक्रमण गरौंलाझैं गरे । स्वाब संकलन गर्न आएको बताएपछि खुसी भए ।’

बुधबार नै तौलिहवामा ४५ र दोहनीमा ७५ जनाको स्वाब संकलन गरिएको छ । तौलिहवाको बुद्धपद्म माविमा संक्रमितसँग हेलमेल भएका ४५ जनाको स्वाब संकलन गरिएको हो । उनीहरूको एकपटक नेगेटिभ रिपोर्ट आए पनि आठ जना संक्रमितसँग हेलमेल भएकाले पुन: स्वाब संकलन गरिएको बताइएको छ । नगरपालिकामा प्राविधिक नभएकाले जिल्ला अस्पतालबाट ल्याब टेक्निसियन बोलाएर स्वाब लिइएको हो । त्यस्तै दोहनीमा १२ दिन पुगेकाको स्वाब संकलन गरिएको छ । ‘पहिलो लट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्न पठाउँछौं,’ कपिलवस्तु नगर प्रमुख किरण सिंहले भने, ‘त्यसको रिपोर्ट आउन कति समय लाग्छ, त्यसैका आधारमा फेरि संकलन गर्छौं ।’ नगरपालिकाका ३५ क्वारेन्टाइनमा नौ सय जना रहेका छन् । उक्त नगरपालिकामा अहिलेसम्म १ सय ३ जनाको स्वाब परीक्षण भएकामा नौ जनामा संक्रमण देखिएको छ ।

यशोधरा गाउँपालिकाले बुधबार १ हजार २ सय भीटीएम खरिद गरेको छ । गाउँपालिकामा २७ क्वारेन्टाइनमा १ हजार ३ सय ४५ जना छन् । गाउँपालिकामा यसअघि पुष्टि भएका १२ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा समुदायमा घुलमिल भएको पहिचान भएको छ । उनीहरूको पनि स्वाब परीक्षण हुन सकेको थिएन । कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका उनीहरू समुदायमा बसेका छन् ।

‘स्वाब परीक्षण नहुँदा समुदाय नै जोखिममा परेको देख्यौं,’ यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले भने, ‘त्यही भएर डर र त्रासमा बस्नुभन्दा भीटीएम खरिद गरेर भए पनि परीक्षण गर्नु बेस सम्झ्यौं ।’ १२ संक्रमितसँग हेलमेल भएका क्वारेन्टाइनका ११ जना र समुदाय स्तरका २६ जनासहित १ सय ६ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले बताए । ‘बुधबार निकै राहतको सास फरेका छौं,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेकाले राम्रो व्यवहार गरे । उनीहरू पनि परीक्षण हुने भन्दै खुसी थिए ।’ पहिलो दिनको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाएपछि थप स्वाब संकलन गरिने उनले बताए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर पठाउने लक्ष्य छ । यहाँका आठ क्वारेन्टाइनमा पाँच सय जना रहेका छन् ।

शिवराज नगरपालिकाले पनि एक हजार भीटीएम खरिद गरेको छ । यहाँ पनि बुधबारबाटै स्वाब संकलन थालिएको छ । आरडीटी पोजेटिभ देखिएका तीन जनासहित एक सय जनाको स्वाब संकलन गरिएको छ । खरेन्द्रपुरको क्वारेन्टाइनमा स्वाब संकलन गरिएको हो । ‘यहाँ संकलन गरेको स्वाब बुधबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणी भट्टराईले भने, ‘अब एक दुई दिन ग्याप गरेर संकलन गर्छौं ।’ यहाँ तीन संक्रमित भेटिएका छन् ।

त्यस्तै मायादेवी गाउँपालिकाले पनि तीन सय भीटीएम खरिद गरेर ल्याएको छ । जिल्लामा तत्काल १० हजार किट माग गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । क्वारेन्टाइनमा बसिरहेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन नसकेको प्रजिअ पौडेलले बताए । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा सात हजारभन्दा बढी रहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?