२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु : प्रदेश सरकार

घनश्याम गौतम

काठमाडौँ — कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु : प्रदेश सरकार

अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

सुरुदेखि अस्पतालमै रहेका उनका दाजुले पनि डाक्टरले भाइलाई बचाउन नसकिएको जानकारी गराएको बताए । ‘बिहान सवा ७ बजेतिर हामीलाई बचाउन नसकिएको बताएका छन्,’ उनले भने, ‘हामीले के गर्ने भन्ने पनि सल्लाह गर्दै छौं ।’

अस्पतालले बिहान उनको मृत्युको जानकारी परिवारलाई दिएको जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बिरामीको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताए । ‘हामी आगामी प्रोटोकलको तयारीमा जुटेका छौं,’ उनले भने, ‘संघीय सरकारलाई पनि जानकारी गराइसकेका छौं ।’

गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाँची हुँदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएदेखि उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइफङ्सन सिन्ड्रोम) थियो । जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

अवस्था गम्भीर हुँदै गएपछि जेठ २ गते उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोभिड–१९ संक्रमण तीन जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोककी सुत्केरी र बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?