भारतीय क्वारेन्टाइनका नेपाली भन्छन्, ‘योभन्दा त बरु जेल ठिक होला’

कमल पन्थी

बर्दिया — भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले राम्ररी खान–बस्नसमेत नपाएको गुनासो गरेका छन् । मापदण्डअनुसारको सुविधा माग्दा दुर्व्यवहार खेप्नुपरेको उनीहरूको भनाइ छ ।  

भारतीय क्वारेन्टाइनका नेपाली भन्छन्, ‘योभन्दा त बरु जेल ठिक होला’

‘चार दिन भयो, नपाकेको खाना दिन्छन् । नास्ता पनि काँचो पुरी–तरकारी खान बाध्य छौं, शुद्ध पिउने पानी छैन, शौचालय गन्हाएर जान सकिने अवस्था छैन,’ गुलरिया–७ का लवकुश यादवले फोनमा सुनाए ।

चार दिनअघि गुलरिया नगरपालिका–७ का यादवसहित चार जना भारत, हैदराबादमा मजदुरी गरी बहराइच हुँदै नेपाल फर्कन लाग्दा भारतीय प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राख्यो । गुजरातबाट फर्केका ६० जनालाई पनि त्यहीँ पठाइयो । क्वारेन्टाइनमा राखेको पहिलो दिन एउटा बिस्कुट र पानीका भरमा रात काट्नुपरेको गुलरिया–११ का नन्कु खानले दुखेसो पोखे ।

बर्दियासँग सीमा जोडिएको बहराइचको तिलक इन्टर कलेज मटेरा स्टेसनको क्वारेन्टाइनमा झन्डै अढाई सय नेपाली छन् । मटेरा स्टेसनआसपासका चार विद्यालयमा राखिएका क्वारेन्टाइनका समेत जोड्दा १ हजार २ सयभन्दा बढी नेपाली छन् ।

दैलेखका दीपक साउदले एउटै कोठामा धेरै जना सुत्नुपर्दा केही बिरामी परिसकेको बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सुविधा माग गर्दा भारतीय प्रहरीले दुर्व्यवहार गर्छन्,’ उनले भने, ‘झुल नहुँदा मलेरिया र डेंगुको जोखिम बढेको छ । सुत्ने ओछ्यान र तन्नासमेत फोहोर छ ।’

दैलेखको नारायण नपा–६ की विद्या दाहालले आफूहरूलाई जंगलको बीचमा रहेको कलेजमा राखिएको बताइन् । ‘गर्मीले बस्ने अवस्था छैन,’ उनले भनिन्, ‘दिनभर विद्युत लाइन काटिन्छ । राति पनि मुस्किलले आउँछ । सास्ती भोग्न बाध्य छौं ।’ कोठामा भिड भएको भन्दै कतिपय बाहिर चौरमा सुत्ने गरेको उनले सुनाइन् ।


तिलक कलेजको क्वारेन्टाइनमा १५ बालबालिका पनि छन् । ‘जेल बरु ठीक होला, यहाँको क्वारेन्टाइन मानवताविरोधी जस्तै छ,’ दैलेखका लालमणि रेग्मीले गुनासो पोखे । आफूहरूलाई तत्काल उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राख्न उनले माग गरे ।

‘कुकुरको खाना बरु राम्रो होला, हाम्रो बत्तर छ,’ गुलरिया–७ का अशोक यादव भने । उनीहरूका अनुसार खाने–बस्ने व्यवस्था राम्रो हुनुपर्ने माग राख्दा प्रहरीले लट्ठीले हिर्काउने गरेको छ । स्वास्थ्यकर्मीसँग स्वाबको रिपोर्ट माग्दा ‘तिम्रै सरकारलाई दिन्छौं’ भन्ने गरेका छन् । स्वास्थ्यकर्मी खासै जाँच गर्न आउँदैनन् पनि ।

क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरूलाई स्वदेश फिर्ता गर्न माग राखी मंगलबार दिनभर प्रदर्शन गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?