नौतनवाबाट ४ सय ३७ नेपालीलाई ल्याइयो

माधव ढुंगाना

भैरहवा — भारतको नौतनवास्थित विभिन्न क्वारेन्टाइनमा दुई साताको बसाई पूरा गरेका नेपालीलाई स्वदेश ल्याउने क्रम जारी छ । मंगलबार साँझ ४ सय ३७ जना नेपालीलाई सुनौली नाका हुँदै स्वदेश ल्याइएको छ ।

नौतनवाबाट ४ सय ३७ नेपालीलाई ल्याइयो

नेपाल ल्याएर उनीहरुलाई सिद्धार्थनगर नगरपालिका, बुटवल नगरपालिका, रोहिणी गाउँपालिका लगायतका रुपन्देहीको क्‍वारेन्टाइनमा राखिएको छ । नवलपरासीका ३ जनालाई भने एम्बुलेन्सबाट भैरहवाबाट त्यसतर्फ पठाइएको छ ।

नौतनवाका विभिन्न क्‍वारेन्टाइनमा अझै साढे १ हजारको हाराहारीमा नेपाली छन् । भारतमा अलपत्रमा परेका मजदुरलाई गन्तव्यसम्म पुऱ्याउनका लागि भारत सरकारले रेल सेवा सञ्चालन गरेपछि सुनौली नाका हुँदै स्वदेश आउने नेपाली यात्रुको चाप बढ्न थालेको हो । उनीहरुलाई सिमानाबाट सम्झाइबुझाइ भारतको क्‍वारेन्टाइनमा बस्ने गरी पठाउने गरिएको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । ‘भारतमा रेल सञ्‍चालन भएपछि गोरखपुरसम्म रेलबाट र त्यहाँबाट भारत सरकारले सञ्‍चालन गरेको बसबाट नेपालीहरु सिमानासम्म आउने गरेका छन्’, अधिकारीले भने, ‘सिमानासम्म आइपुगेका नेपालीलाई सम्झाएर भारतीय सुरक्षाकर्मीको साथमा क्‍वारेन्टाइनमा बस्ने गरी नौतनवामा पठाउँदै आइएको छ ।’दिनहुँ सिमानाबाट फर्काएर क्‍वारेन्टाइनमा पठाइने गरेकाले पनि नौतनवाको क्‍वारेन्टाइनमा बस्ने नेपालीको चापमा कमी नआएको उनले बताए ।

सुनौली नाकामा सोमबार आइपुगेका करिब २ सय नेपालीले आफूहरु स्वदेश जान पाउनु पर्ने माग राख्दै राति सिमानामा करिब एक घण्टासम्म नाराबाजी गरेका थिए । उनीहरुलाई नेपाली सुरक्षाकर्मीले सम्झाएर नौतनवा पठाइदिएको थियो । यो क्रम दिनहुँ दोहोरिँदै आएको छ ।

यसैबीच, नेपालका विभिन्न स्थानमा मजदुरी गरी भैरहवा क्षेत्रमा जम्मा भई देश फर्किन खोजेका भारतीय नागरिकलाई पनि नेपालले दुई दिनदेखि सीमा क्षेत्रमा रोकेर राखेको छ । सिमानादेखि करिब डेढ किमि वर डन्डापुलनिर करिब डेढ सयको संख्यामा रहेका भारतीयलाई स्थानीय नेपाली संघसंस्थाको पहलमा खाना खुवाउने गरिएको छ ।


प्रकाशित : जेष्ठ ६, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?