कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

घर जान पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिए भारतीय मजदुर

दुर्गालाल केसी

दाङ — घर जान पाउनुपर्ने माग गर्दै भारतीय इँटा मजदुर आन्दोलनमा उत्रिएका छन् । लकडाउन भएदेखि कामविहीन बनेर इँटा उद्योगमा बसिरहेका मजदुरहरुले मंगलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।पटक-पटक अनुरोध गर्दा पनि घर जान नपाएपछि आन्दोलन गर्नु परेको मजदुरहरुले बताएका छन् ।

घर जान पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिए भारतीय मजदुर

‘मोदी सरकार, हामीलाई घर लैजाऊ नत्र यहीं गोली मार्देऊ’ भन्ने प्लेकार्ड बोकेका सयौं मजदुरहरुले विभिन्न इँटा उद्योगसहित घोराही उपमहानगरपालिका १० नारायणपुरमा प्रदर्शन गरेका थिए ।

जिल्लामा रहेका २६ इँटा उद्योगमा अहिले ६ हजार ५ सय भारतीय मजदुर रहेका इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीले बताए । ‘लकडाउन भएदेखि मजदुरहरु खाली बसिरहेका छन् । घर जान पटक-पटक प्रयास गर्दा पनि पाएनन्,’उनले भने,‘धेरैपटक बाटोबाट फर्काइए । अहिले यहाँ खानबस्न समस्या भएको छ । उता उनीहरुका परिवारको पनि बिचल्ली भएको छ ।’

अहिले इँटाको सिजन सकिएकाले मजदुरहरुलाई राखिरहन कठिन भएको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा पटक-पटक छलफल गर्दा पनि भारतीय मजदुरलाई घर पठाउनेबारे कुनै गम्भिरता नभएको वलीले बताए । उनका अनुसार हजारौं मजदुरहरु असुरक्षित तरिकाले इँटाभट्टामा बसिरहेका छन् । ‘अहिले कामको सिजन पनि छैन । अहिले इँटाको काम नै छैन । बिनाकाम के खाएर बस्ने ?,’ उनले भने,‘सरकारले छिटो पहल गरी उनीहरुलाई भारत पठाउनुपर्छ । नत्र उनीहरुलाई ठूलो संकट पर्दैछ ।’

दुई देशको मामिला भएकाले जिल्लाबाट केही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘यसअघि गएका मजदुरहरु सीमा पार गर्न पाएका छैनन् । भौवा नाकामा पुगेका २६ जना अलपत्र छन्,’उनले भने,‘भारतले उता पस्न नदिएपछि हामीले यहाँबाट के गर्नु ? उता जान दिएमा हामी पठाउन तयार छौं ।’ बाटोमा अलपत्र पर्ने भएकाले पठाउने केही उपाय नभएको रिजालले बताए ।

यसअघि बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले इँटा उद्योगमा रहेका मजदुरलाई उद्योगले खानबस्न व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । निर्णयअनुसार आजसम्म खानेबस्ने व्यवस्था गरे पनि लामो समयसम्म व्यवस्थापन गर्न कठिन भएको व्यवसायीहरुको भनाइ छ । यसअघि उद्योगहरुले जिल्लामा समन्वय गरी मजदुरहरुलाई पठाउन खोजे पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके प्रवेशद्वार अमिलियाबाट फर्काइएका थिए । पैदल हिँड्दै गएका मजदुरहरु पनि नाकाबाट फर्काइएका छन् । धेरैपटक प्रयास गर्दा पनि घर जान नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?