छिमेकी जिल्लामा संक्रमित भेटिएपछि अर्घाखाँची सिल

वीरेन्द्र केसी

अर्घाखाँची — छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबार राति १२ बजेदेखि अर्घाखाँचीका सीमानाका सिल गरिने भएको छ । कपिलवस्तुपछि अर्को छिमेकी गुल्मीमा संक्रमण देखिएकाले जिल्ला सुरक्षा समितिको बैठकले नाका सिल गर्ने निर्णय लिएको हो ।

अब अत्यावश्यकबाहेक सवारीसाधन र यात्रु आउजाउ गर्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए । कपिलवस्तुसँगको सीमाक्षेत्र सिमलपानी, ठाडालगायतमा भारतबाट आएकाहरू भित्रिने भएकाले त्यहाँ विशेष निगरानी राखिएको छ । अर्घाखाँचीको कपिलवस्तु, गुल्मी, प्युठान, पाल्पासँग सीमा जोडिएको छ । सबै नाकामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थापाले बताए ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका पुरुषले अर्घाखाँची, सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य जाँच गराएका थिए । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीसहित १० जनाको पीसीआर परीक्षणका लागि स्वाब भैरहवा पठाइएको छ । उनीहरूको रिपोर्ट नआउँदासम्म पोलिक्लिनिक पनि सिल गरिएको थापाले बताए । जिल्लाका वित्तीय संस्था पनि अर्को सूचना नभएसम्मलाई बन्द गरिएका छन् ।

प्रशासनका अनुसार सदरमुकामलगायत बजार क्षेत्रका खाद्यवस्तु, तरकारीलगायतका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्नेछन् ।

प्रकाशित : जेष्ठ ६, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?