१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

क्वारेन्टाइनमा बस्ने थपिए, घट्यो परीक्षण

क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै जानु र परीक्षणको दर घट्नुले संक्रमण थप फैलने चिन्ता छ । भीटीएम पनि पर्याप्त नहुँदा स्वाब संकलन बढाउन सकिएको छैन ।
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सीमावर्ती स्थानीय तहको क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढे पनि परीक्षण सुस्त हुँदा जोखिम बढेको छ । स्थानीय तहले दशगजामा अलपत्र परेका नेपाली नागरिकलाई आफैले उद्धार गर्न थालेपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो ।

क्वारेन्टाइनमा बस्ने थपिए, घट्यो परीक्षण

पाल्हिनन्दन गाउँपालिकाले सीमावर्ती नाकामा आएर बसेकाहरुलाई उद्धार गरेको छ । केन्द्र सरकारले सीमामा आएकालाई भारततर्फ नै व्यवस्थापन हुने बताए पनि अलपत्र परेकाहरु भरत जान मान्दैनन् । 'आफ्नै आँखाअगाडि अलपत्र परेर भोकभोकै बसेको हेर्न नसकेर उद्धार गरेका हौं,' पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले भने ।

सुरुका दिनमा सुनसान रहेका जिल्लाका क्वारेन्टाइन अहिले भरिभराउ छन् । शनिबारमात्र सुस्ताबाट पीसीआर जाँच गर्न ५५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा हालसम्म ३ सय ९६ जनाको मात्र कोरोना परीक्षण भएको छ । त्यसमध्ये प्रतापपुर गाउँपालिका-५ बैदौलीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाभरका क्वारेन्टाइनको संख्या बढ्दै जानु र परीक्षणको दर घट्नुले संक्रमण थप फैलने चिन्ता बढेको जनगुनासो छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालासम्म पुर्‍याउन आवश्यक भीटीएम पनि पर्याप्त उपलब्ध नहुँदा स्वाब संकलन बढाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताए । उनका अनुसार जिल्लामा थप ४ हजार भीटीएम आवश्यक छ ।

अहिलेसम्म जिल्लामा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न ६ सय ४९ भीटीएम किट उपलब्ध भएकोमा अब १ सय ४९ मात्र बाँकी छ .।

प्रकाशित : जेष्ठ ५, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?