क्‍वारेन्टाइनबाट भागेका ४४ जनालाई फर्काइयो

मुम्बई र दिल्लीबाट आएका उनीहरु भागेपछि गाउँमा निक्कै त्रास थियो । अहिले उनीहरुलाई पुन: क्वारेन्टाइनमा निगरानीका साथ राखिएको छ ।
मनोज पौडेल

कपिलवस्तु — यशोधरा गाउपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई  प्रहरीले फिर्ता ल्याएको छ । शुक्रबार र शनिबार भागेका उनीहरुको खोजीमा आइतबार बिहानैबाट प्रहरी लागेको थियो ।

क्‍वारेन्टाइनबाट भागेका ४४ जनालाई फर्काइयो

शुक्रबार उक्त वार्डको खोरियास्थित सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका १८ जना र शनिबार सोही ठाउँको राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनमा बसेका २२ जना भागेका थिए ।

आइतबार रातिसम्म खोजेर ४० जना ल्याइएको सशस्त्रको २८ नं. गणका उपरीक्षक जनकराज पुरीले बताए । ‘४ महिलालाई चाहिँ सोमबार बिहान ल्याएर राख्यौं,’ उनले भने, ‘दुवै क्वारेन्टाइनमा उनीहरुलाई राखेर कडा निगरानी गरेका छौं ।’

मुम्बई र दिल्लीबाट आएका उनीहरु भागेपछि गाउँमा निक्कै त्रास थियो । गाउँपालिकामा १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये उक्त वार्डकै ५ जना थिए । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले वडाध्यक्ष सहाबुद्दिन मुसलमानले उक्साई उनीहरुलाई घर पठाएको बताए । ‘उनको धेरै कमजोरी देखियो,’ पौडेलले भने, ‘सोमबार उसलाई बोलाएर सोधपुछ गर्दै छौं ।’

मुम्बईबाट जेठ १ गते दुई जना गाउँ आएपछि क्वारेन्टाइनमा नबसी गाउँमै घुमेका थिए । कांग्रेस समर्थित उनीहरुलाई देखेपछि वडाध्यक्ष मुसलमानले क्वारेन्टाइनमा बसेका आफ्ना समर्थकलाई उक्साइदिए । ४५ जना घर पुगे । सञ्चारमाध्यमा भने उनले भागेको भनेर खबर प्रवाह गरेका थिए ।

खोरिया गाउँमा ५ जना संक्रमित देखिएकाले तत्काल सिल गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?