नेपालगन्जमा मजदुरलाई राहतको सट्टा रोजगार

सरकारी दरको ज्यालामा लकडाउनबीच दुई सयभन्दा बढी मजदुरले रोजगार पाएका छन् ।
मधु शाही

बाँके — जारी लकडाउनका कारण मजदुरहरुको रोजीरोटी गुमेको छ । नेपालगन्ज उपमहानगरपालिकाले भने राहतको आवश्यकता परेकाहरुलाई रोजगारको व्यवस्था गरेको छ ।

नेपालगन्जमा मजदुरलाई राहतको सट्टा रोजगार

हरेक वडामा उपभोक्ता समिति गठन गरेर पालिकाभित्र चलिरहेका निर्माण, मर्मत, सरसफाइजस्ता काममा मजदुरलाई खटाइएको हो ।

शुक्रबार नेपालगन्ज धम्बोजीस्थित वाटर पार्कमा ५० जना कामदारले रोजगार पाए । उनीहरुले त्यहाँ वरिपरि निर्माणाधीन पार्कमा सरसफाइ गरे । नेपालगन्ज उपमहानगरपालिका-२० मा बस्ने श्याम विश्वकर्माले बेरोजगार भएका बेला काम पाउँदा खुसी लागेको बताए । उनी गाडी चलाउँथे । लकडाउनपछि काम बन्द भयो । 'दुई महिनासम्म आर्थिक भार खेप्नुपर्‍यो,' उनले भने, 'परिवार पाल्न मुस्किल भएपछि राहतको खोजीमा उपमहानगरपालिका पनि धाएँ ।'

उपमहानगरपालिका-२ का वडाध्यक्ष सुशील सिंह हमालले सरकारी दरको ज्याला दिएर इच्छुक मजदुरलाई रोजगार दिएको बताए । उनका अनुसार यसमा स्थानीय महिला बढी उत्साहित देखिन्छन् । मजदुरलाई कोरोना संक्रमणबाट जोगिन मास्क र पन्जाको व्यवस्था गरिएको उनको भनाइ छ । वडाका आगामी योजनामा मजदुरलाई नै सकेसम्म रोजगार दिने भनिएको छ । ‘दोहोरो राहत दिन सक्ने अवस्था छैन,’ वडाध्यक्ष हमालले भने, ‘मजदुरहर कि काम दिनुपर्‍यो कि राहत दिनु भन्छन् । हामीले काम दियौं ।’

शुक्रबार झार उखेल्ने मजदुरको भिडभाड देखेर स्थानीयले लकडाउनको उल्लंघन गरिएको भन्दै आपत्ति जनाएका थिए । तर, राहत वितरणमा मजदुरलाई काम नलगाई नहुने अवस्था रहेको उपमेयर उमा थापाले सुनाइन् । ‘हामीसँग थुप्रै काम अलपत्र परेका छन्,’ उनले भनिन्, ‘राहत माग्न आउने मजदुरलाई काम गरेर खाने अवसर दिएका छौं । तर, व्यवस्थित र सुरक्षित हुन अनुरोध गरेका छौं ।’ अहिलेसम्म दुई सयभन्दा बढीले रोजगार पाएको उनले बताइन् ।

प्रकाशित : जेष्ठ ४, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?