१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

श्रीमान् विदेशमा, बाँझो जमिन खन्दै महिला

उनीहरु दिनभर गैंती, कोदालो, गल, बेल्चा, फरुवा बोकेर बारीमा पुग्छन् । भन्छन्, 'एक टुक्रा पनि जमिन बाँझो राख्दैनौं, सबैमा खेती गर्छौं ।’
वीरेन्द्र केसी

अर्घाखाँची — धेरैका श्रीमान् वैदेशिक रोजगारमा छन् । कुनै बेला मुरीका मुरी अन्न फल्ने बारी बाँझिएका छन् । अब भने यी बाँझा जमिनमा हरियाली छाउनेछ । अन्न र मसला फल्नेछन् । 

श्रीमान् विदेशमा, बाँझो जमिन खन्दै महिला

यही बाँझो जमिनलाई पसिनाले सिँचिइरहेका छन्, छत्रदेव गाउँपालिका-२ काब्रेका महिलाहरु । वर्षौंदेखिको बाँझिएको जमिन खन्न एक सातादेखि १८ महिला जुटेका छन् । पाखो जमिन खनेर अन्न र मसला लगाएर आत्मनिर्भर बन्ने उनीहरुको योजना छ ।

बिहान-बेलुका घरको काम, घाँसपात गर्ने र दिनभर गैंती, कोदालो, गल, बेल्चा, फरुवाले खन्ने र सम्याउने गर्छन् ।

गाउँका सबै महिला संगठित भएर काब्रे महिला कृषक समूह गठन गरेका छन् । उनीहरु बाख्रा, कुखुरा बेचेर पैसा जोगाएर मासिक बचत पनि गर्छन् । ‘बाँझिएको बारी र समथर खर्‍यान खनेर ७० किलो बेसार लगाइसक्यौं,’ समूहकी पूर्वसचिव सुष्मिता पौडेलले भनिन्, ‘खन्ने क्रम जारी छ । एक टुक्रा पनि जमिन बाँझो राख्दैनौं, सबैमा खेती गर्छौं ।’

बाँझिएका बारी सम्बन्धित व्यक्तिले नि:शुल्क रुपमा खेती गर्न समूहलाई दिएका छन् । यहाँ मकै, गहुँ लगायतका अन्नबाली राम्रो उत्पादन हुने गरे पनि बाँदरले क्षति पुर्‍याउने भएकाले बेसार खेती लगाइने पौडेलले बताइन् । 'जमिनमुनि बाँदरले खोस्रेर खाँदैन,' उनले भनिन् ।

यहाँ १८ घरको डेढ सय रोपनीभन्दा बढी बारी बाँझिएका छन् ।

कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिन सक्ने भएकाले बाँझो जमिनमा खेती गर्न थालिएको समूहकी अध्यक्ष सीता पौडेलले बताइन् । 'बारी एक्लै खन्न सकिँदो रहेनछ तर एकतामा बल आउँदो रहेछ,' उनले भनिन्, 'आलु, अदुवा, बेसार, हलेदो, पीडालु, सक्खर र खुर्सानी लगायतका बाली बाँदरले खाँदैन ।'

सुरुमा त गैंती र कोदालोले खन्न थकाइ लाग्ने र हातमा ठेला उठ्ने गरे पनि निरन्तर काम गरेपछि बानी लागेको समूहकी सचिव कमला पौडेलले बताइन् । ‘महिलाहरु अब चुलोचौकोमा मात्रै सीमित भएर बस्दैनौं, उत्पादनमुखी काम गरेर देखाउँछौं,’ उनले भनिन् ।

प्रायः सबै महिलाका पुरुष भारत र तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा छन् ।

वडाध्यक्ष राजेशकुमार पन्थीले उत्पादित बेसार वडाले खरिद गरिदिने वचन दिएपछि महिलाहरुले धमाधम बारी खन्न थालेका छन् । वडामा एउटा बेसार उद्योग राख्ने र उत्पादित गरेको खरिद गर्ने योजना रहेको पन्थीले बताए । महिलाहरुलाई उत्पादनमुखी काममा लगाएर स्वरोजगार बनाउन वडाभित्र गठित १५ वटा महिला समूहलाई बेसार खेती उत्पादनमा लगाइएको उनले बताए । 'बाँझा बारी खन्न प्रोत्साहन गरेका छौं, महिला सक्रिय भएर काम गर्न सुरु गरेका छन्,' उनले भने ।

प्रकाशित : जेष्ठ ३, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?